‘सरकार भारतसँग चुइँक्क बोल्न सक्दैन,  एमालेले बहुमत नल्याए बर्बाद हुन्छ’

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाल हो भनेर भन्न सत्तारुढ दलका नेताहरु डराएको आरोप लगाएका छन्। 

सोमबार ललितपुरमा आयोजित विभिन्न पार्टीबाट आएका नेता, कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्नाे भूमिबारे चुइँक्क बोल्न नसकेको बताएका हुन्। 

नेपालले १४६ वर्षदेखि भोगचलन गर्दै ६० वर्षअघि हाम्रो हातबाट खोसेर लगेको सो जमिन हाम्राे हो भनेर एमाले नेतृत्वको सरकारले मात्रै मुलुकको नक्सामा सामेल गरेको अध्यक्ष ओलीले स्मरण गराए। 

दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरूलाई मात्रै माथि उठाउने काममा केन्द्रित भइरहेको उनले दोहोर्‍याए। गठबन्धनले राजनीतिलाई दुश्मनीको विषय बनाएको भन्दै ओलीले आपत्ति जनाए।

मुलुकलाई बर्बाद हुनबाट बचाउन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने उनको भनाइ छ। 

यस्तो छ ओलीको भनाइ 

यस पार्टीका नेताहरु छोराबुहारीलाई माथि उठाउन काम गरिरहेका छैनन् । यहाँका नेताहरु श्रीमती, साला, भाइ, भतिजा, आफन्त, परिवारका सदस्य, नातागोताहरुलाई माथि उठाउन लागि रहेका छैनन् । देश बनाउन लागेका छन् नेकपा एमालेका नेताहरु । र, सिंगै पार्टीले देश बनाउने काममा केन्द्रित भएर आग्रह गरिरहेका छौं । आज देशको सार्वभौमसत्ता भएको मन नपर्नेहरू, पटक पटक नाकाबन्दीमा पर्छन् । एउटै देशतिर मात्रै बाटो । नाकाबन्दीमा पर्न नदिनका लागि  अर्कोतिरबाट पनि बाटो खोल्नुपर्छ । अर्को देशतिरबाट पनि बाटो खोल्ने ।

यताबाट ब्लक गर्‍यो भने उता तिरबाट बाटो खोल्ने त्यत्ति गर्यो भने त नाकाबन्दी हुँदैन । तर, त्यत्ति नगर्ने । यहाँ कस्तो भयो भने हाम्रो राष्ट्रियता त कायरताको कारण रह्यो । जनता संयमित छ । तर, नेताहरु सत्ताको लोभ, त्यसले गर्दा थप्पड लगायो भने गएर खुट्टा समाएर आमा भनेर रुन्छ नि बच्चाले । त्यस्तै थप्पड लगायो भने पनि त्यसलाई सहेर बस्ने तर त्यसको विकल्प नखोज्ने,चीन त्यहाँ छँदै थियो । पहिल्यैदेखि थियो ।

किन बाटो नखोलेको ? किन पारवहन, यातायात सम्झैताका नगरेको ? किन सधैंका लागि नाकाबन्दीबाट देशलाई मुक्त नगरेको ? हामीले त्यसलाई मुक्त गरेका छौं । नेकपा एमाले त्यस्तै पार्टी हो । ६० वर्ष अगाडिदेखि, १४६ वर्षदेखि हामीले भोगचलन गरेको जमिन ६० वर्ष अगाडि हाम्रो हातबाट खोसेर अरुले नै लगेको रहेछ । त्यो जमिन फिर्ता ल्याउन कसैले आवाज उठाउँदैन, बोल्दैन । नेकपा एमाले बोल्यो, हामी बोल्यौँ । र, हामीले नक्सा जारी गर्‍यौं।

संविधानमा त्यसलाई समेट्यौं । र, हामीले पत्राचार गर्यौं भारतलाई–यो हाम्रो हामीलाई दिनुस् । म सुन्छु–यो कुरा भारतलाई मन परेको छैन रे ! भारतलाई मन पर्छ कि पर्दैन होइन । भारतलाई मन पर्न पर्छ । नेपालले आफ्नो जमिन फिर्ता मागेर हामी अरुको जमिनमा दावी गरिरहेका छैनौं । हामी आफ्नो जमिन फिर्ता मागिराखेका छौं । त्यत्ति पनि मन नपराउने ? त्यस्तो पनि हुन्छ ? त्यसकारण यो मन पराउनुपर्छ, फिर्ता गर्नुपर्छ । यो कुरासँग यो गठबन्धन भन्ने छ नि !

गठबन्धनको हेर्नुस्त म्याउँम्याउँ । यिनीहरुले लिम्पियाधुरा, लिपुलेक, कालापानी भनेर भन्न सक्छन, बोल्न सक्छन् ? म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु–सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको भूमि, तपाईंको पश्चिमको नक्सा, तपाईंको प्रदेशको नक्सा, तपाईंको जिल्ला भन्दा एक जिल्ला पर्तिरको नक्सा, दार्चुलाको नक्सा त्यहाँ लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको होकि होइन ? त्यहीँ ठाउँको मान्छे, तपाईँले त डाँडामा उभिएर पनि हेर्नु भएको छ ।

ल, भन्नुस् त्यो हो कि होइन ? बोल्नुहुन्न उहाँ । महान क्रान्तिकारी, अनेक तमासा गर्ने प्रचण्डजी, लिम्पियाधुरा, लिपुलेक, कालापानी कसेको हो भन्नुस् ? अस्ति जाँदा पनि चुइक्क बोल्नु भएन इन्डियामा ? चुइक्क बोल्नु भएन । बोल्नुस् । माधव नेपाल भन्ने अर्को हुनुहुन्छ फेरी । उहाँ बोल्नुस् । कसको हो, लिम्पियाधुरा, लिपुलेक, कालापानी ? शेरबहादुरजी जानु भयो । प्रचण्डजी जानु भयो । आफूलाई नबोलाएकोमा बडो दुखित भएर बस्नुभएको आजकाल । शेरबहादुरलाई बोलाए । प्रचण्डलाई पनि बोलाए । मलाई बोलाएनन् भनेर बस्नु भएको छ । उहाँलाई दुःख त्यहीँ छ । बोल्न पर्दैन आफ्नो देशको बारेमा । नेपाली काँग्रेस उहिलेदेखि अहिलेसम्म नेपाली काँग्रेस नसप्रिएकोमा अचम्म लाग्छ ।

TOP