भिजिट भिसा : लाखाैँ असुली युएई पुर्‍याएर अलपत्र, अभियुक्त फरार

काठमाडौं : वैशाख  २०७८ मा विश्वभरी महामारीको रुपमा कोरोना भाइरस फैलिरहेको थियो। आफूले गर्दै आएको काम पनि कोरोना महामारीले खोस्यो।

सर्लाहीका कृष्ण प्रसाद ढकाल रोजगारीको खोजीमा धेरै भौँतारिए। तर, पनि भने अनुसारको काम पाउन सकेनन्। अन्त्यमा वैदेशिक रोजगारीमा जाने सोच बनाए।

रोजगारीको खोजीमा रहेका ढकालले ‘द गोर्खा म्यानपावर ओभरसिज प्रा.लि’का सञ्चालक जय बहादुर विकलाई भेटे। आफ्नो कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता भएको साथै वर्किङ भिसामा युएई पठाउने बताए।

रोजगारीको खोजीमा रहेका ढकालले विकलाई विश्वास गर्दै पटक पटक गरी १२ लाख बुझाए। उनले पैसा बुझाएको केही समयपछि कोरोनाका कारण समस्या भएको भन्दै भिजिट भिसामा जानुपर्ने अवस्था आएको बताए।

युएईमा पुगेपछि १५ दिनभित्र काम आफैँले लगाइदिने भन्दै आश्वासन दिए। उनी पनि सोही अनुसार भिजिट भिसामा युएई उडे। १५ दिनमा लगाइदिने भनेको रोजगारी ११ महिना बस्दा पनि पाउन सकेनन्। काम नपाएर अलपत्र परेका ढकालले म्यानपावर व्यवसायी विकलाई सम्पर्क नगरेका होइनन्। तर उनी सम्पर्कमा आएनन्।  ढकाल भन्छन्, ‘रोजगारीका प्रलोभनमा एकातिर ऋण गरेको पैसा सकियो अर्कातिर ११ महिनासम्म बन्धक जस्तो बस्नु पर्‍याे।’​

विकबाट रोजगारीको प्रलोभनमा ठगीमा परेका हजारौँ नेपाली छन्। आफूसँगै नेपालबाट पैसा मगाएर स्वदेश फर्केका करिब एक दर्जन नेपाली रहेको उनले बताए।

त्यस्तैगरी १ सय ५० जना भूतपूर्व आर्मीहरू युएई भिजिट भिसाको प्रलोभनमा परी साढे २ करोड ठगिएको छ। विकले युएई प्रहरी, सुरक्षा गार्ड र सुरक्षा क्षेत्रको रोजगारीमा लगाइदिने प्रलोभन देखाई ‘द रोयल गोर्खा म्यानपावर ओभरसिज प्रा‍.लि’ नामक नक्कली म्यानपावर दर्ता गरी करिब १ सय ५० जना भूतपूर्व आर्मीहरूलाई भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र परेको जानकारी प्राप्त भएको छ।

रोजगारीका नाममा युएईमा अलपत्र पार्ने विकका विरुद्धमा वैदेशिक राेजगार विभाग, मानव बेचविखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरिएकाे छ। ठगीमा संलग्न विकविरुद्ध पीडितहरू ओमप्रकाश उप्रेतीसहित १० जनाले एक करोड १५ लाख ३५ हजार, दिपेन साँवासहित ७ जना पीडितहरुले थप ५४ लाख ३४ हजार, डिलराज डौलियाले ११ लाख ११ हजार, महेन्द्र बहादुर कुमालसहित तीन जनाले २९ लाख ३६ हजारसहित २ करोड २९ लाख भन्दा बढीको मागदाबीसहित मानव बेचबिखन अनुसन्धान ब्युरो र वैदेशिक रोजगार विभागमा जाहेरी दिएका छन्।

पीडितको जाहेरीका आधारमा विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दर्ता गराएको विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए।

उनीहरुसँग प्रतिव्यक्ति १५ लाखसम्म असुली गरेको पाइएको छ। भिजिट भिसाको प्रलोभनमा पर्दा धेरै नेपाली आर्थिक ठगी र युएईमा अलपत्र पर्ने समस्या बढेको विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए। प्रमाण नहुँदा भिजिट भिसाका दोषीलाई कारबाही गर्न समस्या भइरहेको उनको भनाइ छ।

वैदेशिक रोजगार विभागमा भेटिएका अजय शिवाकोटीका अनुसार टर्किस् एयरलाइन्समा जाँदा खुसीको आँशु बगेको थियो। तर, नौ महिनापछि फर्किँदा डुबेको पैसा कसरी तिर्ने र युएईमा भागेको समस्या सम्झिएर सबै जना रुँदै फर्किएको उनले सुनाए।

अहिले पैसा माग्दा धम्की दिने गरेको पीडितहरु सुनाउँछन्।​

विदेश बसेर नेपालमा ठगी धन्दा  

कालिकोट घर भएका २५ वर्षीय जयबहादुर विक भिजिट भिसाका नाममा ठगी गर्दै आएका छन्। सयोगेश परियार, बलराम थापा, वसन्तराज श्रेष्ठ, नविन बिक, सुरज थापा र समीर जोशीसमेतको मिलेमतो रहेको पाइएको छ।

पीडितका अनुसार विकले युएईबाट नक्कली भिसा र डिमाण्ड लेटर बनाएर नेपाल पठाउँथे। त्यही नक्कली भिसा र डिमान्ड लेटर देखाएर उनका एजेन्टले नेपालमा रोजगारीको खोजीमा रहेका युवाकाे ठगी गर्दै आएका थिए।

जयबहादुर विक र योगेश परियार भने युएईमा रहेका कारण प्रहरीको फरार सूचीमा छन्। मुख्य योजनाकार विकलाई इन्टरपोल प्रहरीको सहयोगमा नेपाल ल्याउनु पर्ने पीडितहरूको माग छ। यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इन्टरपोल प्रहरीको सहयोगमा नेपाल ल्याउन तयारी गरेको छ।

वैदेशिक रोजगार ऐनको दफा ४३ मा तोकिए अनुसार विक सहितको भिजिट भिसा कारोबारीलाई कारबाही हुने विभागले जनाएको छ। ऐनको दफा १० मा इजाजत पत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालनको नक्कली म्यानपावर खडा गरी ठगी गरेको आरोपमा पनि दोषीलाई कारबाही हुने वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए।

सोही अनुसार पीडितलाई न्याय र दोषीलाई क्षतिपूर्ति सहितको मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पठाइएको विभागले जनाएको छ। ठगीमा संलग्नहरूले जति पैसा लिएका छन्। त्यसमा थप ५० प्रतिशत जरिवाना थपेर दिनुपर्ने कानुनी प्रावधान छ।

रोजगारीको प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने अधिकांश युवाहरु ठगीमा पर्ने गरेको पाइएको छ। भिजिट भिसामा कति नेपाली विदेशमा रहेका छन् भन्ने सरकारसँग एकिन तथ्यांक छैन। नेपालबाट रोजगारीका लागि विदेश जाँदा श्रम स्वीकृत लिएर जाने नेपाली श्रमिकलाई सरकारले उद्धार सहयोग गर्ने गर्दछ।

TOP