दोस्रो पटक रोकियो नासाको ‘आर्टेमिस–१ मिसन’

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको चन्द्रमामा रकेट पठाउने आर्टेमिस–१ मिसन दोस्रो पटक पनि रोकिएको छ। गत हप्ता पठाउने भनिएको मिसन अन्तिम समयमा आएर रोकिएको थियो।

पछिल्लो पटकको मिसन रकेटमा इन्धन चुहावट भएपछि रोकिएको हो। दोस्रो पटक मिसन रोकिएपछि रकेटलाई लन्च प्याडबाट मर्मतका लागि निकाल्ने तयारी गरिएको छ।

यो मिसन अब केही हप्ता थप रोकिन सक्ने जनाइएको छ। नासाले विकास गरेको अहिलेसम्मकै शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएसबाट रकेट प्रक्षेपणको तयारी गरिको थियो।

यो रकेट लन्च गर्नका लागि लन्च भेहिकलका चार शक्तिशाली इन्जिनमा ३० लाख लिटर हाइड्रोजन र अक्सिजन पैदा गर्ने ऊर्जा आवश्यक पर्ने नासाले जनाएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान रकेटको इन्जिनमा इन्धन भर्दा इन्धन चुहिएको अलार्म बजेपछि यो मिसन दोस्रो पटक स्थगित भएको ह । यो मिसन ५० वर्षपछि चन्द्रमामा मानिस पठाउन तयार गरिएको हो।

पहिलोपटक मानवरहित रकेट पठाउने र दुई वर्षपछि अन्तरिक्ष यात्रीसहितको रकेट पठाउने योजना नासाको छ।

TOP