दाङ २ मा महरा र पोखरेलको प्रतिस्पर्धा हुने

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा दाङ क्षेत्र नं २ मा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा हुने निश्चित भएको छ। 

आइतबार माओवादीले उपाध्यक्ष महरालाई उम्मेदवार सिफारिस गरेसँगै पोखरेलसँग उनको प्रतिस्पर्धा हुने निश्चित भएको हो । 

आइतबार माओवादीले क्षेत्र नं २ दाङले  प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि महरासहित तीनजनाको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरेकोमाओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए। शर्मा समानुपातिक सांसद हुन्। त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित भएका थिए। 

यो क्षेत्रबाट नेकपा एमालेले पार्टी महासचिव शंकर पोखरेललाई एकल उम्मेदवार सिफारिस गरेको छ। नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ। 

TOP