आजदेखि पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा निषेश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा अत्यधिक कडाइ गरेको छ । यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई आजदेखि भने सुरक्षाकर्मीले गेटमा रोकेका छन् ।

आज स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशननै दिएका थिए । अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा. विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ भएको छ ।

उनीहरुलाई आफ्नो काम र भेट्ने व्यक्तिबारे जानकारी गराएपछि भेट्ने व्यक्तिको फुर्सद भएमात्र पत्रकारले भित्र जान पाउनेछन् ।
मन्त्रालयमा अरु मानिसहरुको आवतजावत नरोकिए पनि पत्रकार भने गेटमै रोकिएका हुन् ।

मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले कोरोना संक्रमण बढ्दै गएकाले भेटघाटमा कडाइ गर्नुपरेको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय मन्त्रालयका प्रवक्ताले दिनमा एक पटक गर्ने नियमित अपडेटबाहेक अन्य माध्यमबाट सूचना दिन कडाइ गरिएको छ । तर मन्त्रालयले अझै सूचना चुहिएको भन्दै पत्रकारको प्रवेश नै निषेध गर्न लागेको हो ।

TOP