अरिंगालको टोक्दा एकजनाको मृत्यु, दुई घाइते

खोटाङ : अरिंगालको टोकाइबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ।

हिँडिरहेका वेला शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिंगाललेटोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । 

उनीसँगै हिँड्दै गरेका २५ वर्षीया शर्मिला नेपाली र ७२ वर्षीय नैनसिं दर्जी घाइते भएका छन्। घाइते दुवैको उपचार जिल्ला अस्पताल खोटाङमा भइरहेको प्रहरीले जनाएको छ । 

दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। 

मृतक परियार फरक क्षमताका थिए । उनको शरीर सामान्य मानिसको भन्दा अस्वभाविक बढी मोटो थियो । शरीर मोटो भएकै कारण भाग्न नसक्दा अरिंगालको टोकाइबाट उनको मृत्यु भएको हुनसक्ने स्थानीय बासिन्दा उजुर राईले बताए।

मृतक परियार मावलीघर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएका थिए। 

TOP