गठबन्धनले चुनाव जिते देशले गति लिन्छ : डा. महत

काठमाडौँ : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन सरकारले मात्रै देशलाई आत्मनिर्भर बनाउने दाबी गरेका छन्।

शनिवार वाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। प्रवक्ता महतले गठबन्धन सरकारले देशमा पर्यावरणमैत्री अर्थतन्त्र अघि बढाउने बताए।

उनले व्यापक विद्युत् उत्पादन बढाई निर्यात र खपत बढाउने, परनिर्भरता समाप्त गर्ने, विद्युतीय सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवर्धन देशभर गर्ने काम गठबन्धनले मात्र गर्ने बताए। उनले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरू देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यकता भएको जिकिर गरे।

उनले भने, ‘देशमा अब समृद्धिको विकल्प छैन। रोजगारीका लागि वैदेशिक निर्भरता अन्त्य गर्नु छ। लगानीका लागि लगानीमैत्री वातावरण आवश्यक छ। त्यसका लागि हामीले गठबन्धन गरेका छौँ। गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने देशले लय समात्छ।’

प्रवक्ता महतले रोजगारीका लागि वैदेशिक निर्भरता अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताए। उनले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताए।

प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रीय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि गठबन्धन हुन आवश्यक भएको बताए। उनले नेपालमा शान्तिको नारा अहिलेका लागि महत्त्वपूर्ण नरहेको बताए। उनले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताए।

उनले भने, ‘संविधानको रक्षा, स्थायित्व र समृद्धिका लागि गठबन्धन हो। शान्तिको नारा अहिलेका लागि महत्त्वपूर्ण छैन। शान्ति स्थापित भइसकेको छ। अहिले संविधानको रक्षा, जुन ठूलो संघर्षपछि दुईदुई पटकको संविधानसभामार्फत संविधान हामीले बनाएका छौँ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीले देश अस्थिरतातिर धकेलिएको आरोप लगाए। प्रवक्ता महतले देशलाई प्रतिगमनमा जान नदिन र संविधानको रक्षाका लागि गठबन्धन बनाएको दाबी गरे।

उनले भने‚ ‘गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान गर्‍यौँ र अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनायौँ।‘

उनले अध्यक्ष ओलीकै नेतृत्व रहेको खण्डमा देशमा भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी गरे।

उनले भने‚ ‘यो संविधान समावेशी र लोकतान्त्रिक संविधान छ। संघीय संरचना र स्थानीय निकायहरूलाई अधिकार सम्पन्न गरिएको छ। अब हामीले मन, वचन र कर्मले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती हामीसँग छ।’

उनले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाए। उनले ओलीको नेतृत्वमा देशको नेपालको परराष्ट्रनीति अल्मलिएको आरोप लगाए। प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरे पनि गठबन्धनको जित सुनिश्चित रहेको दाबी गरे।

TOP