बैङ्कको ब्याजले उद्योग बन्द हुने अवस्था आएको भन्दै उद्योग वाणिज्य सङ्घ आन्दोलनमा

पर्वत : पर्वत उद्योग वाणिज्य सङ्घले बैङ्कहरूले एकपक्षीय रूपमा ब्याजदर बढाउँदा उद्योगी व्यवसायीहरू सङ्कटमा परेको भन्दै विरोध गरेको छ।

सङ्घका पदाधिकारीहरूले शुक्रवार जिल्ला प्रशासन कार्यालयमार्फत अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नरलाई विरोधपत्र पठाएका छन्। विरोधपत्रमा कोभिड–१९को महामारीसँगै उद्योगी व्यवसायी थला परी तरलता अभावको समस्या खेप्नुपरेको अवस्थामा बैङ्क तथा वित्तीय निकायहरूबाट कर्जाको ब्याजदरमा एक्कासि वृद्धि गर्नु एवं चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ मा गरिएको व्यवस्थाप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

ब्याजदर बढाउँदा मन्दी छाइरहेको तथा तरलता अभावले समस्या झेलिरहेका उद्योग व्यवसाय थप आहत पुगेको पर्वत उद्योग वाणिज्य सङ्घले बताएको छ। एकपक्षीय ढङ्गले अनुचित रूपमा गरिएको ब्याजदर वृद्धि र संशोधित कर्जा नीतिका कारण मझौला, साना एवं लघु उद्यमहरू सञ्चालन गर्ने मोफसलका उद्योगी व्यवसायी समस्यामा पर्नुका साथै कतिपय उद्योग व्यवसाय पनि बन्द गर्नुपर्ने जटिल अवस्था आएको पनि विरोधपत्रमा लेखिएको छ।

उद्योग वाणिज्य सङ्घले १० बुँदे माग पनि राखेको छ। जसमा कर्जा लगानीको कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिबिना व्याज दर वृद्धि गर्न नहुने, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्ने, चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन–२०७९ मा रहेको कुल कारोबारको २० प्रतिशत मात्र कर्जा पाउने व्यवस्था तत्काल लागू गर्न नहुने, ऋणीको व्यवसायको सम्पूर्ण नगद कारोबार चल्ती खातामार्फत गर्ने व्यवस्था भएकोमा नगद कर्जा खातामा नै जम्मा गर्ने व्यवस्था हुनुपर्ने, ऋणीले चाहेको बखत मासिक रूपमा २ प्रतिशतभन्दा बढी नगद रकम निकासा गर्न नपाइने व्यवस्था भएकोमा आवश्यकता र औचित्य अनुसार निकासा गर्न पाइने व्यवस्था हुनुपर्ने भनिएको छ।

यस्तै चालू पुँजी कर्जा खाताबाट कुनै पनि किस्ता साँवा ब्याज तिर्न नपाइने व्यवस्था अव्यवहारिक भएकाले किस्ता सावाँ ब्याज तिर्न पाइने व्यवस्था हुनुपर्ने, चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीले चल्ती खाताबाट नभई कर्जा खाताबाट नै नगद तथा भुक्तानी गर्न पाउनुपर्ने, बैङ्कहरूले विभिन्न शीर्षकमार्फत लिने सेवा शुल्क लगायतका कुनै पनि शुल्क, महसुल लिन नपाउने, बैङ्कहरूले ऋणीहरूप्रति गरिने व्यवहार आर्थिक अनुशासनको मर्यादा अनुकूल हुनुपर्ने र विगतमा मौद्रिक नीतिमार्फत दिएका छुटहरू कार्यान्वयन हुनुपर्ने भनिएको छ।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले आफ्ना मागको तत्काल सम्बोधन गरी सहज निकास दिनका लागि, नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्रबैङ्क र आबद्ध बैङ्क तथा वित्तीय संस्था एवं सम्बन्धित निकायसमक्ष आग्रह गरिएको बताए। व्यवसायी मागहरू तत्काल सम्बोधन नगरिएमा पर्वत उद्योग वाणिज्य सङ्घको नेतृत्वमा, बैङ्क बहिष्कार गर्ने, बैङ्कलाई बुझाउने साँवा, किस्ता ब्याज नबुझाउने तथा उद्योग व्यवसाय बन्द गरी चरणबद्ध रूपमा देशव्यापी आन्दोलन गर्ने बताए। विरोधपत्र बुझाइनु आन्दोलनको शुरुवाती चरण भएको र उद्योग तथा वाणिज्यको विषयमा सबै पक्ष गम्भीर हुनुपर्ने अधिकारीको भनाइ छ।

TOP