वैज्ञानिक र व्यवहारिक विश्लेषण गरी विवरण सार्वजनिक गर्न यायोक्खाको माग

काठमाडौं : किरात राई यायोक्खाले किरात राई जातिको विवरणमा पटक पटक गम्भिर गल्ति भएको भन्दै २०७८ सालमा भएको १२ औँ राष्ट्रिय जनगणनाको विवरण वैज्ञानिक र व्यावहारिक विश्लेषण गरेरमात्र सार्वजनिक गर्न माग गरेको छ।

आइतबार राष्ट्रिय तथ्यांक कार्यालयमा यायोक्खाले स्मरण पत्र बुझाउँदै तथ्यांक संकलनको बेला सही विवरण नआएपनि अब अध्ययन र विश्लेषण गरि सार्वजनिक गर्न माग गरेको हो।

यायोक्खाका अध्यक्ष जीवन हाताचो राईलगायत अन्य पदाधिकारीहरूले तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेलाई स्मरण पत्र बुझाएका थिए।

त्यस्तै,वाम्बुले राई समाज,नेपाल (वाम्रास),थुलुङ राई सरोकार समिति,किरात राई बान्तावा खिमलगायत किरात राईभित्रका भाषिक संस्थाहरूले पनि ध्यानाकर्षण पत्र बुझाएका छन्।

यायोक्खाका अध्यक्ष हाताचोले २०६८ सालमा भएको ११ औँ राष्ट्रिय जनगणनामा गम्भिर त्रुटि भएकाले पटक पटक ती गल्तीहरू सच्याउन माग गर्दै आएपनि यसलाई बेवास्ता गरिएको आपत्ति जनाए।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ सँग बाझिने वा ऐनको उल्लंघन हुनेगरी वा ऐनको अनुसूचीमा उल्लेख भएका जातिलाई फुटाउने गरी नयाँ जाति कायम हुनेगरी विवरणमा नराख्न माग गरेको उनले बताए। 

त्यस्तै,वाम्बुले राई समाज,नेपाल (वाम्रास)का उपाध्यक्ष गणेश राईले १२ औँ जनगणनामा भाषाको महलमा ‘वाम्बुले’लाई ‘याम्बुले’ लेखिएकाले यो त्रुटि सच्याउन माग गरे।  

बारम्बार विवरण सच्याउन आग्रह गर्दा पनि तथ्यांक विभागले बेवास्ता गरि तथ्यांक सार्वजनिक गरे कडा आन्दोलन गर्ने र त्यसबाट सिर्जना हुनसक्ने जुनसुकै परिस्थिति तथ्यांक कार्यालयले जिम्मा लिनुपर्ने यायोक्खाको चेतावनी छ।

पत्र बुझेपछि तथ्यांक कार्यालयका निर्देशक लामिछानेले गल्ति भएका विवरण सच्याउने आश्वासन दिए।

TOP