सत्यमाेहन जाेशीकाे कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लाग्छाैँ : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कामहरू देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले जाेशीले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पुर्‍याउनुभएको योगदान र लेख्नुभएको कीर्ति संरक्षण गर्दै देश विकास गर्न सके उहाँको साँचो अर्थमा कदर हुने उल्लेख गर्नुभयाे । 

स्वर्गीय जोशीको १३ औँ पुण्यतिथिको अवसरमा आज शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संस्कृतिविद् जोशीलाई देशलाई माया गर्ने सच्चा देशभक्त व्यक्तित्वको रूपमा आफूले चिनेको पनि बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपालको साहित्य, संस्कृति र राजनीतिको विभिन्न आयामको साक्षीकाे रूपमा जोशी रहनुभएकाले उहाँलाई देश र जनताले कहिल्यै पनि नबिर्सने बताउनुभयो । 

नेपालको भाषा, साहित्य र संस्कृतिलाई माया गर्ने देशको निधिको रूपमा चित्रण गर्दै जाेशीलाई सरकारले त्यसै कारण शताब्दी पुरुषको रूपमा सम्मान गरेको उहाँले स्मरण गराउनुभयो । 

प्रधानमन्त्री देउवाले जोशीको निधनबाट देशले ठूलो क्षति बेहाेर्नुपरेको उल्लेख गर्दै उहाँले राख्नुभएको कीर्ति र योगदानबाट सिकेर देशको विकासमा लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यावहारिकरूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता जनाउनुभयाे । उहाँले जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्‍याएकाे योगदानको सरकारले सधैँ कदर गर्ने पनि बताउनुभयो । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कीर्तित्वको बारेमा चर्चा गर्नुभएको थियो ।

TOP