टी-२० विश्वकप : आयरल्याण्डविरुद्ध अष्ट्रेलियाको ४२ रनको जित

एजेन्सी । आयरल्याण्डलाई हराउँदै आयोजक अष्ट्रेलिया आइसिसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो समूहको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

आज ब्रिस्बेनमा भएको खेलमा आयरल्याण्डलाई ४२ रनले हराउँदै अष्ट्रेलियाले सेमिफाइनल पुग्ने सम्भावना समेत बलियो बनाएको छ। पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा ५ विकेट मात्र गुमाएर १७९ रन बनाएको थियो। 

जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १८ दशमलव १ ओभरमा नै जम्मा १३७ रनमा अलआउट भयो।

आयरल्याण्डका लोर्कन टकरले अविजित रहँदै ७१ रनको योगदान गरे पनि जित दिलाउन सकेनन्। ग्यारेथ डेलानीले १४ तथा मार्क एडेयर र पाउल स्टर्लिङले ११/११ रन जोडे पनि बाँकी खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

बलिङतर्फ प्याट कमिन्स, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क र एडम जाम्पाले २/२ विकेट लिए।

त्यसअघि अष्ट्रेलियाको ब्रिस्बेनमा टस जितेको आयरल्याण्डले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७९ रन बनायो।

अष्ट्रेलियाका कप्तान आरोन फिन्चले सर्वाधिक ६३ रनको योगदान गरे। मार्कस स्टोइनिसले ३५ तथा मिचेल मार्शले २८ रन जोडे। डेभिड वार्नर ३ रनमा पेभेलियन फर्किए।

जारी प्रतियोगितामा ५ अंक जोडेको न्युजिल्याण्ड यो समूहको शीर्ष स्थानमा छ। समान ५ अंक नै जोडेको भए पनि नेटरनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।

५ अंक नै जोडेको दक्षिण अफ्रिका अर्को समूहको शीर्ष स्थानमा छ भने ४ अंक जोडेको भारत दोस्रो स्थानमा छ। यही समूहमा ४ अंक नै रहे पनि बंगलादेश नेट रनरेटका आधारमा तेस्रो स्थानमा छ।

TOP