टी-२० विश्वकप : इंग्ल्यान्डसँग न्युजिल्यान्ड २० रनले हार्‍यो

एजेन्सी । अस्ट्रेलियामा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह १ को आफ्नो चौथो खेलमा न्युजिल्यान्डले पहिलो हार बेहोरेको छ।

इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकाल्यो। जितसँगै समूह १ को सेमिफाइनल समीकरण रोचक बनेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो।

जवाफमा १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा १ सय ५९ रन मात्र बनाउन सक्यो। उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाउँदा कप्तान केन विलियमसनले ४० रन बनाएका थिए। फिन एलेनले १६ रन जोड्दा अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्।

इंग्ल्यान्डका लागि क्रिस वोक्स र साम कुरानले २/२ विकेट लिएका थिए।

त्यसअघि पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले कप्तान जोस बटलरको ७३ रनको शानदार इनिङको मद्दतमा १ सय ७९ रन बनाएको थियो। ​उसका लागि एलेक्स हेल्सले पनि ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए। लायम लिभिङस्टोन्सको २० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

न्युजिल्यान्डका लागि लकी फर्गुसनले २ विकेट लिँदा इश सोधी, मिचेल स्यान्टनर र टिम साउदीले १/१ विकेट लिएका थिए।

जितपछि इंग्ल्यान्डको पनि ४ खेलबाट ५ अंक भएको छ। तालिकामा न्युजिल्यान्ड, अस्ट्रेलिया र इंग्ल्यान्ड तीनै टिमको बराबर ५ अंक छ भने श्रीलंकाको ४ अंक रहेको छ।

TOP