काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

आयोगले मंगलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालू आर्थिक वर्ष २०७९/०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दामा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए।

उनले त्यसमध्ये १ सय २२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे। १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनको भनाइ छ। 

प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जाने गरी काम गरिरहेको र ती मुद्दाहरूको फैसला प्राप्तिका लागि कुरेको बताए। उनले अघिल्लो आर्थिक वर्षको दुई वटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिए।

सो मुद्दाहरू सामाजिक सुरक्षा भत्ता हिनामिना र गैरकानुनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे।

पुनरावेदनमा गएका १ सय २२ वटा मुद्दामध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस/रिसबतका १ सय १२ वटा, नक्कली बैंक ग्यारेन्टीको १ वटा, जग्गाधनी श्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए।

त्यसैगरी सार्वजनिक पुल निर्माणको १ वटा र गुणस्तरहीन सामान खरिदको एउटा रहेको उनको भनाई छ ।

प्रवक्ता भण्डारीले गत आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ वटामा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए।

TOP