कपिलवस्तु र रुपन्देहीका २४ हजार गाई भैँसीको नश्ल सुधार गरिँदै

कपिलवस्तु र रुपन्देहीका २४ हजार गाई भैँसीको नश्ल सुधार गरिँदै जानु पाण्डे कपिलवस्तु समाचारदाता, कपिलवस्तु मङ्सिर २० गते । साना दुग्ध उत्पादक किसानहरुको उत्पादन बृद्धी गर्न कपिलवस्तु र रुपन्देहीका २४ हजार गाईभैँसीको नश्ल सुधार गरिने भएको छ । कपिलवस्तुको बाणगंगा र बुद्धभूमि नगरपालिका र रुपन्देहीको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकामा कृतिम गर्भाधान गरि उन्नत जातको नश्ल सुधार गरिने भएको छ ।

तिन वर्ष भित्र हरेक पालिकाका ६ हजार गाई भैँसीमा कृतिम गर्भाधान गरिने बताइएको छ । स्थानीय जातबाट प्रति दिन ३ लिटर दुध उत्पादन हुने भएको र क्रसविड गर्दा दैनिक १० लिटर उत्पादन हुने भएकोले नश्ल सुधारको कार्यक्रमलाई प्राथमिकता दिएको परियोजनाका कार्यक्रम संयोजक शरद अधिकारीले बताउनु भयो ।

जस अन्तर्गत ३ हजार स्थानीय गाईमा जर्सी गाईको सेक्स सिमेन (एक्स क्रोमोजम मात्र भएको बाछी उत्पादन हुने) प्रयोग गरि कृतिम गर्भाधान गराइने बताइएको छ । सेक्स सिमेनको प्रयोग गर्दा बाछी मात्र उत्पादन हुने हुँदा कृषकलाई बाछो जन्मिएर बिक्री नुहँने समस्या समाधान हुने छ ।

यसै गरी ३ हजार स्थानीय जातको भैँसीमा मुर्रा जातको ननसेक्स सिमन प्रयोग गरि नश्ल सुधार गरिने आईआरडिसीका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो । नेपालमा बार्षिक २४ लाख लिटर दुग्धको आबश्यकता भएको र हाल १९ लाख लिटर मात्र उत्पादन भएको ले नश्ल सुधार मार्फत कृषकको आम्दानी बढाउने बुद्धभुमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बताउनु भयो ।

साना दुग्ध उत्पादन कृषकहरुका लागि कृतिम गर्भाधान कार्यक्रमले ग्रामिण भेगका किसानलाई बजार श्रृंखलामा समेटिने बताइएको छ । परियोजनाको लागि जर्सी ओभरसिज एड, आड्रा नेपाल, फरवार्ड र आईआरडिसी नेपालको संयुक्त लगानी रहेको छ ।

TOP