कम्बोडिया आगलागी : होटलको १२ औं तलाबाट हाम फालेका पाण्डेको मृत्यु

काठमाडौं : कम्बोडियाको एक होटलमा भीषण आगलागीमा परी एक नेपालीको मृत्यु भएको छ। 

स्थानीय समय अनुसार बिहीबार राति ११ बजे लागेको आगोमा परी झापा बिर्तामोड १ का निराकार पाण्डेको मृत्यु भएको हो। भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनी बसेको होटल क्यासिनोमा आगो लागेपछि पाण्डेले १२ औं तलाबाट हाम फालेका थिए।

आगलागी सुरु भएपछि उनले घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए। आगलागीबाट बच्न नसक्ने निष्कर्षमा पुगेपछि उनले आफ्नो परिवारका सदस्यलाई भिडियो सन्देश पठाएका थिए । 

सार्वजनिक भएको छोटो भिडियो क्लिपमा दमकलको साइरन सुनिन्छ। कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ। अन्तिम समयमा आँखाभरी आँशु पारेर छोरासँग कुरा गर्दै पाण्डेले भनेका थिए, ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु। बाबा अल्वेज लभ्स यू। सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’

नेपालमा कुरा गर्नुअघि उनले गैरआवासीय नेपाली संघ एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालाई फोन गरेका थिए। पाण्डेले आफू बसेको होटलमा आगलागी भएको भन्दै अत्तालिएर फोन गरेको र आफूले उद्धार भइरहेकाले नआत्तिन आग्रह गरेको बताएका छन्। 

उद्धारका लागि पहल हुँदाहुँदै पाण्डेले अत्तालिएर झ्यालबाट हाम फालेकाले मृत्यु भएको खड्काको भनाइ छ। उनको शव नेपाल ल्याउनका लागि प्रयास भइरहेको बताइएको छ। 

TOP