खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने भन्दै वामदेवको चिन्ता

काठमाडौं : राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताएका छन्। 

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा बोल्दै गौतमले वर्तमान सरकारले मुलुक भित्र नै उत्पादन वृद्धि गरी दिगो विकासलाई समेत मद्दत गर्दै सुशासन कायम गर्न पहल गर्नुपर्ने बताए।

उनले नेपालमा सम्पूर्ण खाद्यान्नदेखि जनैसम्म विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेकाले मुलुक गरिब भएको भन्दै चिन्ता व्यक्त गरे। उनले अहिले विश्वका अन्य देश भन्दा नेपाल अर्थतन्त्रमा पछाडि परेको बताए।

उनले सरकारले मुलुक भित्र उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्न सक्नुपर्नेमा जोड दिए। खाद्यान्न,फलफूल,औषधि लगायत उत्पादनमा वृद्धि गरी आत्मनिर्भर बन्नसके मुलुक भित्र नै रोजगारी समेत सिर्जना हुने उनको भनाई छ। 

विगतमा नेपाली काँग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरू निजीकरण गर्दा अहिले समस्या भएको गौतमले आरोप लगाए। नेपाली काँग्रेस नेतृत्वको सरकारले विगतमा सरकारी उद्योगहरूमा अप्ठ्यारो पार्ने र निजीकरण गर्ने काम गरेको उनले जिकिर गरे।

TOP