प्रतिनिधिसभा पुनः विघटन गर्ने ओलीको भनाइप्रति काँग्रेसको चिन्ता

काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनः विघटन गर्नसक्ने भन्दै दिएको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने घोषणा गर्दै पूर्ण कार्यकाल सरकार चलाउन सबै मिलेर काम गर्न दिनुपर्ने बताए।

देउवाले भने‚ ‘प्रतिनिधिसभाको हिजोको बैठकमा नेकपा एमालेका अध्यक्षको सम्बोधनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँले संविधानको संसदीय व्यवस्थाको विपरीत पुनः संसद् विघटन गर्न सकिने कुरा उठाउनुभएको छ।‘

यस्तो अवस्थामा चुप लाग्न नसकिने देउवाको भनाइ छ।

‘संविधानको पालना र रक्षाका लागि वर्तमान संविधानसहित वर्तमान प्रधानमन्त्री र हामी एक ठाउँमा उभिएका थियौँ। आज फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरू तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रा सामु छ।’

सभापति देउवाले सरकारको गठन गर्नु वा सरकार परिवर्तन गर्नु संसद्को महत्त्वपूर्ण काम भएको बताए। उनले देश र जनताका लागि सबै नीति र कानूनको निर्माण पनि संसद्को क्षेत्राधिकार भएको भन्दै संसद्‌मा प्रभावकारी प्रतिपक्षको अभावमा सरकारमाथिको निगरानी र अनुगमन पद्धति कमजोर हुने बताए।

देउवाले देशमा विद्यमान चुनौतीलाई सरकारले कसरी हेर्छ, विद्यमान समस्या समाधान हुन्छ? संविधानको रक्षा तथा कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको दिगो शान्ति र सुशासन विकास र समृद्धिको सवालमा सरकारको कामकारबाही कस्तो रहन्छ भन्ने कुरा मद्दे नजर गरेर आगामी दिनमा समर्थन गर्ने वा नगर्ने भन्ने निर्धारण गर्ने पनि स्पष्ट पारे।

देउवाले भने‚ ‘अहिले सभाको निर्वाचन सम्पन्न हुनासाथै प्रतिनिधिसभाको विघटन हुनु असामान्य र अस्वभाविक हुन्छ भन्ने जस्ता प्रत्युत्पादक छलफलमा प्रवेश गर्नुभन्दा पूर्ण कार्यकाल सरकार चलाउन दिनुपर्छ भनेर संविधानको मर्म र भावनाअनुरूप हाम्रा व्यवहार हुनुपर्छ। हामी नयाँ निर्वाचनबाट भर्खरै नयाँ प्रतिनिधि सभामा प्रवेश गरेका छौँ।’

उनले संविधानको पालना र रक्षाका लागि वर्तमान प्रधानमन्त्री र काँग्रेस एक ठाउँमा उभिएको स्मरण गर्दै फेरि वर्तमान सत्ता गठबन्धनका प्रमुख घटकहरू तिनै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधान र रक्षाका लागि खरो रूपमा उभिने चुनौती आफूसमक्ष रहेको बताए।

‘देशमा विद्यमान चुनौतीलाई सरकारले कसरी हेर्छ, सरकारको कामकारबाही कस्तो रहन्छ, जनसरोकारका विषयमा सरकारको पहल हुन्छ कि हुँदैन, देश र जनताको हितमा कसरी कति काम गर्छ। यी काम कारबाहीको आधारमा भविष्यमा समर्थन गर्ने र नगर्ने हाम्रो नीति रहनेछ’‚ देउवाले भने।

TOP