राष्ट्रियसभाका सांसदहरूको गुनासो : हाम्रो हैसियत वडा सदस्य जति पनि भएन
काठमाडौं : राष्ट्रियसभाका सांसदले आफूहरू मर्यादा क्रममा पार्टीभित्र र बाहिर दोस्रो दर्जाको सांसद जस्तो भएको गुनासो गरेका छन्।
राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बिहीबार उनीहरूले राष्ट्रियसभा सदस्यको राज्यले दिएको र स्वयं व्यक्तिगत रुपमा पाउनुपर्ने मर्यादाक्रमप्रति असन्तुष्टि जनाएका हुन्।
उनीहरूले पार्टीभित्र प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई दिने मान्यतामा धेरै फरक रहेको गुनासो गरे। उनीहरूले राष्ट्रियसभा सांसदलाई सार्वजनिक कार्यक्रम तथा विभिन्न समारोहमासमेत प्रतिनिधिसभा सदस्यभन्दा तल राखिने गरेको भन्दै आपत्ति जनाए।
राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले पार्टीभित्र संसदीय दलको बैठक बस्दा दोस्रो दर्जाको सांसद जस्तो हुने गरेको बताए। उनले राज्यले दिएको मर्यादा र स्वयं व्यक्तिले पाउने मर्यादासमेत नपाएको गुनासो गरे।
उनले विभिन्न कार्यक्रममासमेत प्रतिनिधिसभा सांसदलाई पहिला र राष्ट्रियसभा सांसदलाई पछि बोलाउने गरेको बताए। उनले अहिलेको यस्तो अवस्थालाई विस्थापित गर्न समितिले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिए।
अर्का सांसद कृष्णप्रसाद पौडेलले समितिले बैठकमा छलफल गरी निर्देशन दिएका विषयमा प्रभावकारी कार्यान्वयन भए/नभएको अनुगमन गर्नुपर्ने बताए। उनले छलफलपछि बाहिर परिणाम कस्तो आयो भन्ने विषयमा जानकारी लिएर समितिले गर्ने काम परिणाममुखी बनाउनुपर्ने बताए। समितिले धेरै काम र निर्देशन गरी परिणाम ल्याउँदामात्र राम्रो हुने अन्यथा छलफलमा मात्रै सीमित हुने उनले बताए।
सांसद विमला घिमिरेले राष्ट्रियसभा सदस्यमा गृह मन्त्रालयले बनाएको मर्यादाक्रम सच्याउनुपर्ने माग गरिन्। उनले माथिल्लो सदनका सांसद तल बस्ने तर भर्खरै निर्वाचित भएको भनेर प्रतिनिधिसभा सांसदलाई माथि राख्न नमिल्ने बताइन्।
सांसद कमलादेवी पन्तले प्रतिनिधिसभा नचल्ने बित्तिकै राष्ट्रियसभा नचल्ने अवस्था भएर राष्ट्रियसभाको औचित्य नभएको महसुस भएको बताइन्। उनले राष्ट्रियसभाको औचित्य नभए राज्यलाई भार बनाउन नहुने बताइन्। प्रतिनिधिसभा नचल्दा राष्ट्रियसभा पनि नचल्ने यकिन हुनुपर्ने उनको भनाइ थियो। उनले राष्ट्रियसभा निरीहसभा जस्तो भएको गुनासो गरिन्।
सांसद शारदादेवी भट्टले राष्ट्रियसभाका सांसदले कुनै अधिकार नपाएको बताइन्। उनले राष्ट्रियसभामा बोलेका र समितिमा छलफल भएका कुनै पनि विषय कतै कार्यान्वयनमा नआएको दावी गरिन्। उनले राष्ट्रियसभाका सांसदको काम संसदमा बोल्ने मात्रै भएको बताइन्।
सांसद सिंगबहादुर विश्वकर्माले प्रतिनिधिसभाका सांसद माथि भए पनि राष्ट्रियसभा सदस्य उनीहरूभन्दा माथि हुनुपर्ने बताए। उनले राष्ट्रियसभाका सदस्यको हैसियत वडा सदस्यजति समेत नभएको बताए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam