अकुत सम्पत्ति आर्जन गर्ने तत्कालीन भन्सार अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : आफ्नो सेवा अवधिमा २ करोड १० लाख अकुत सम्पत्ति आर्जन गर्ने तत्कालीन भन्सार अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

अख्तियारले आज विशेष अदालत काठमाडौंमा रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दान बहादुर केसीविरुद्ध २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

केसीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा केसीले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०४३ साउन ०१ देखि २०७८ असार ३० गतेसम्मको उनको सम्पूर्ण वैधानिक आयहरूमा पारिश्रमिक बचत, विभिन्न प्रोत्साहन भत्ता‚ पुरस्कार रकम, जग्गा बिक्री, कर्मचारी सञ्चयकोषबाट लिएको कर्जा आय, स्वआर्जित घर बहाल आय, पैतृक घर बहाल आय, कृषि आय, अंशबण्डाबाट प्राप्त नगद, बीमा परिपक्व भै प्राप्त गरेको रकम र बैंक ब्याजबाट प्राप्त रकमसमेत गरी जम्मा ३ करोड ५१ लाख १६ हजार २० रूपैयाँ २२ पैसा हुन आएको अख्तियारले जनाएको छ।

सोही जाँच अवधिमा केसीको सम्पूर्ण व्यय (खर्च तथा लगानी) हरूमा घर निर्माण, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, संगोलमा रहँदा नै जग्गा खरिद गर्दा भएको निजको भागमा पर्न आउने खर्च, छोराछोरीहरूको अध्ययन खर्च, सञ्चय कोषको कर्जा भुक्तानी, स्वआर्जित घर बहाल कर, पैतृक घर बहाल कर, बीमाको प्रिमियम भुक्तानी खर्च, छोरीहरूलाई दिएको रकम, शेयर खरिदमा भएको खर्च, सवारीसाधन खरिदमा भएको खर्च, निजी भ्रमणमा भएको खर्च, औषधी उपचार खर्च, सुन खरिदसमेत गर्दा भएको खर्च र बैंक मौज्दातसमेत गरी जम्मा ५ करोड ६१ लाख २६ हजार ५०२ रूपैयाँ ७३ पैसा खर्च तथा लगानी गरेको देखिएको छ।

केसीको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा २ करोड १० लाख १० हजार ४ सय ८२ रूपैयाँ ५१ पैसाको वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानुनबमोजिम सार्वजनिक पद धारण गरेको कर्मचारीले पदमा बहाल रहँदा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिव कारणबिना अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

केसीले सार्वजनिक पदको दुरुपयोग गरी २ करोड १० लाख १० हजार ४८२ रूपैयाँ ५१ पैसा बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन‚ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन‚ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा कैद तथा जरिवानाको सजाय हुन अख्तियारले मागदाबी लिएको छ।

साथै केसीले जाँच अवधिमा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुशीला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधिपछि खरिद गरेका सम्पत्तिबाट समेत जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

यसैगरी केसीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती सुशीला पण्डितको नाममा जग्गाहरु खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र पण्डितलाई प्रतिवादी कायम गरिएको अख्तियारले स्पष्ट पारेको छ।

TOP