भुटानी शरणार्थीलाई स्वदेश फिर्तीको पहल गरिदिन नेता रिजालको आग्रह
काठमाडौं : भुटानका जेलमा ७८ जनालाई बन्दी बनाएर राखिएको भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालले बताएका छन्। देशमा लोकतन्त्र र मानव अधिकार माग गर्दा भुटानी राजाले ७८ जनालाई अहिले पनि जेलमा राखेको रिजालले बताएका हुन्।
नेपाली भाषी भुटानीका परिवार कोही भुटानका जेलमा, कोही नेपालमा त कोही क्यानडा, अमेरिकालगायत आठ पश्चिमी देश पुगेका छन्। परिवार छिन्नभिन्न बनेको छ।
‘राजाको एकतन्त्रीय शासनले गर्ने दमन सहेर भुटानभित्रै बसेकाहरूले परिवार भेट्नसमेत पाएका छैनन्, ’तत्कालीन राज्य परिषद् सदस्यसमेत रहेका रिजालले भने, ‘नेपाल सरकारले भुटान सरकारसँग कुरा गरेर भुटान फर्कने वातावरण तयार गरिदेओस् भनेर निवेदन दिएको छु।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरेलाई रिजालले नेपालको संसद्मा नेपाली भाषी भुटानीलाई भुटान फर्कने वातावरणका लागि पहल गरिदिन आग्रह गरेका छन्।
‘नेपालले भुटानसँग वार्ता गरेर आफ्नै देश फर्कन पाउने भुटानी नागरिकको अधिकारमा बल पुर्याउनुपर्थ्यो’, उनले भने, ‘तर भुटानी शरणार्थीलाई तेस्रो देश पठाउने काम भयो।’
अमेरिकालगायत ८ पश्चिमी देशमा १ लाख १३ हजारभन्दा भुटानी शरणार्थी पुनर्वास गराइएका छन्। पुनर्वास भएकामध्ये ९६ हजार अमेरिका र बाँकी बेलायत, क्यानडा, नर्वे, डेनमार्क, अस्ट्रेलिया, न्यूजिल्याण्ड र नेदरल्याण्ड्स पुगेका छन्। सन् १९९० आसपासका वर्षमा दक्षिण भुटानमा भएको सरकारी दमनका कारण १ लाखभन्दा बढी नेपाली भाषी भुटानी विस्थापित भएका थिए। उनीहरू नेपालमा आएर शरणार्थी बनेका थिए।
शरणार्थी समस्या समाधानका लागि सन् १९९३ देखि सन् २००० सम्म १५ पटक नेपाल र भुटानका अधिकारीहरू वार्तामा बसे। वार्तामा भुटान आफ्ना नागरिकको फिर्तीका लागि तयार नभएपछि शरणार्थी पुनर्वास सुरु भएको हो।
प्रदेश नं १ को झापामा अहिले पनि ८ हजारभन्दा बढी शरणार्थी स्वदेश फिर्तीको आसमा रहेको रहेको बताउँछन् रिजाल।
भुटान फर्कन पाउनुपर्ने मागमा अडिग रहेर नेपालमै शरणार्थी बनेर बसेका रिजालका आफ्नै सन्तान क्यानडामा बसोवास गर्छन्। ‘नेपालमा थोरै मात्रै भुटानी शरणार्थी छौँ’, रिजालले भने, ‘हाम्रो माग भनेकै भुटान नै फर्कन पाउनुपर्छ भन्ने हो।’
भुटानबाट देश निकाला गरिएकाहरू अहिले पनि नेपाल र भारतका विभिन्न ठाउँमा आश्रय लिएर बसिरहेका उनले बताए। ‘उनीहरूसँग परिचयपत्र समेत छैन’‚ उनले भने, ‘उनीहरू पहिचानविहीन छन्।’ उनले भुटानबाट लखेटिएकाहरूलाई भुटानमै फर्कने वातावरण बनाउन नेपाल र भारत दुवैको पहल हुन आवश्यक रहेको बताए।
उनले अवरुद्ध वार्ता सुरु गर्न नेपाल सरकारसँग आग्रह गरे। वार्ताबाट आफ्नो देश फर्कने वातावरण बनाउनुपर्ने उनले बताए। ‘भुटान फर्काउनेभन्दा नेपाली नागरिक बनाएर राख्ने कुरा पनि सुनिएको छ’, नेता रिजालले भने, ‘हामीले नेपाली नागरिकता मागेका छैनौँ‚ हामी आफ्नै देश फर्कन चाहन्छौँ।’
विभिन्न देशमा पुगेका भुटानी शरणार्थी भुटान नै फर्कने रिजालले दाबी पनि गरे। भुटान फर्कने मागमा एक्लै परे जस्तो लाग्दैन? भन्ने प्रश्नमा रिजालले भने, ‘भुटानमा मानवअधिकार र प्रजातन्त्रको माग गर्दा १० वर्ष जेल परे, भागेर नेपालको शरणमा आए’, उनले भने, ‘हाम्रो श्रीसम्पत्ति उतै (भुटानमा) छ। यहाँ शरणार्थी जीवन बिताउनु परेको छ, आफ्नो देश फर्कन पनि नेपाल सहित विश्व समुदायसँग अपिल गर्नु परेको छ।’
उनले नेपालबाट अर्को देश पुगेका भुटानी शरणार्थीलाई भुटानभित्र प्रवेश निषेध गरिएको बताए। ‘विदेश त पुगेका छन्, सन्तुष्ट पनि होलान्’, उनले भने, ‘भुटानमा रहेका आफ्ना परिवार भेट्ने गरी आउन पाएका छैनन्। आफ्ना नागरिकलाई आफ्नै देश प्रवेश गर्न नदिएर भुटानी राजाले निरङ्कुश शासन चलाइरहेका छन्।’
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam