सेना दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आएको बताएकी छिन्।

सेना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपतिले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको बताएकी छिन्।

‘संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पुर्‍याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु’, उनको सन्देशमा उल्लेख छ।

देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहं भूमिका खेल्दै आएको भन्दै भण्डारीले यो वर्ष सम्पन्न तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरेकी छिन्।

सोही उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको प्रश‌ंसा गरेका छन्।

‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस संगठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ’, उनको सन्देशमा उल्लेख छ।

प्रचण्डले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन्।

TOP