भण्डारीको स्वास्थ्य अवस्थामा सुधार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थामा सुधार आएको छ। अस्पतालको रिपोर्टअनुसार उनको सबै ‘पारामिटर नर्मल’ रहेको छ।
नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा भइरहेको छ। डा. धनञ्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।

शुक्रबार पहिलो शल्यक्रिया गर्दा दायाँ खुट्टामा ‘डिप इन्ज्यूरी’ रहेका कारण सोचेभन्दा धेरै समय लागेको र ‘अब्जरबेसन’ पनि कम्तीमा एक–दुई घण्टा राख्नुपर्ने नियम रहेको कारण दोस्रो सर्जरी गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भएको नेता कँडेलले बताए।

नेता भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनोअक्साइडको मात्रा देखिएको र चिकित्सकको भनाइअनुसार हाल तल्लो भागमा मात्र रहेकाले हृदयमा असर नपर्ने बताइएको छ।

बुधबार राति आफ्नो निवासमा ग्यास चुहिएर सांसद डा. भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी घाइते भएका थिए। लगत्तै उनीहरूलाईकीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।

नेता भण्डारीलाई नेपालमा उपचार सम्भव नभएपछि बिहीबार भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको चििकत्सकले जनाएका छन्।

TOP