२० वर्षदेखि बाँझो जग्गामा सामूहिक आलुखेती


म्याग्दी : स्थानीय तहले कृषिमा अनुदान र सहयोगको व्यवस्था गरेपछि म्याग्दीका बाँझो जमिनमा एकल र सामहिक खेती थालिएको छ। ​ बेनी, धवलागिरि, मालिका, मंगला, अन्नपूर्ण र रघुगंगामा बाँझो जमिन खोजी गरी खेती गर्न थालिएको हो।

यस क्रममा धवलागिरि गाउँपालिका–२ लमसुङको मरेनीमा २० वर्षदेखि बाँझो रहेको जग्गामा स्थानीयवासीले सामूहिक आलु खेती सुरु गरेका छन्। ​ लमसुङको स्थानीय लगनशील बहुउदेश्यीय कृषक समूहले मरेनीमा वर्षौँदेखि बाँझो रहेको ४४ रोपनी जग्गामा झाडी फँडानी गरेर पुनः आलु खेती विस्तार गरेका हुन्।

एक महिनादेखि बाँझो जग्गाको झाडी फडानी गर्ने काम सुरु गरी खनजोत सकेर आलु लगाएको समूहका अध्यक्ष गौसरा विकले बताइन्। उनका अनुसार, समूहमा आबद्ध १८ जनाले व्यावसायिक सामूहिक आलु खेतीमा सहभागिता जनाएका छन्। यो वर्ष समूहले १०० रोपनी जग्गामा आलु लगाउने तयारी गरेको छ। समूहले मरेनीसँगै पैरेनी र लमसुङमा समेत थप आलु खेती लगाउने तयारी गरेको जनाएको छ।

मरेनीमा स्थानीयकै जग्गा भाडामा लिएर आलु २० मुरी आलुको बीउ रोपिएको समूहले जनाएको छ। गाउँपालिकाको आलु पकेट कार्यक्रममार्फत सामूहिक रूपमा आलुखेती सुरु गरेका कृषक समूहले मरेनीमा मात्रै ४४ रोपनी जग्गामा स्थानीय जातका आलु लगाएको गाउँपालिका कृषि शाखाका प्राविधिक सहायक अमृत थापाले जानकारी दिए।

‘वर्षौँदेखि बाँझो रहेको जग्गाको स्वरूप नै फेरिएको छ, यसलाई आगामी वर्षमा पनि निरन्तरता दिन स्थानीय कृषक उत्साहित बनेका छन्, मौसम अनुकुल भएमा सामूहिक आलुखेतिबाट स्थानीयवसीको आयआर्जनमा समेत टेवा पुग्नेछ’, थापाले भने। गाउँपालिकाले चालु आर्थिक वर्षमा आलु पकेट क्षेत्र कार्यक्रमका लागि १२ लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकामा आवेदन पेश भएकामध्ये छनोट भएको वडा नम्बर २ को लगनशील बहुउद्देश्यीय कृषक समूह र वडा नम्बर ६ मराङको बुल झर्मका कृषि जडिबुटी तथा पशुपक्षी कृषक समूहलाई रु ६÷६ लाखको दरले बजेट परिचालन गर्ने कृषि शाखाले जनाएको छ। यो बजेटबाट बाँझो जग्गालाई खेती विस्तारका साथै मिनि टेलर हलो लगायतका कृषि औजार उपकरण समेत सहयोग गर्ने जनाइएको छ।

मगला गाउँपालिकामा पनि ७० रोपनी भन्दा बढी बाँझो जग्गामा सामुहिक तरकारी र फलफूल खेती थालिएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए।

TOP