लुम्बिनी प्रदेश : नयाँ सरकार गठन गर्ने तयारीमा आठ दल


दाङ : केन्द्रमा समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिने भएको छ।

राजधानी भालुबाङमा बुधबार आठ राजनीतिक दलको सरकार परिवर्तनबारे छलफल गरेको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको संयुक्त बैठक बसेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ समीकरणको आधारमा सरकार गठनका लागि पहल गर्ने बताए। बैठकमा वर्तमान मन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तालगायत सहभागी थिए।

वर्तमान सरकार अफल भएको दाबी गर्दै नयाँ सरकार बनाउने विषयमा छलफल गरेको लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले जानकारी दिए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसको एक महिना भित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदा बहुमत नपुग्ने पनि जानकारी दिए।

पाण्डेले अबको दुई महिना भित्र प्रदेशमा नयाँ सरकार बन्ने र आफूहरू नयाँ समीकरणका साथ अघि बढ्ने जानकारी दिए। बैठकमा राष्ट्रपति निर्वाचनलाई लक्ष्य गरी फागुन १९ गते हुन लागेको प्रदेश सांसदको संयुक्त प्रशिक्षणको बारेमा छलफल पनि गरिएको थियो ।

प्रदेशमा हाल नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी छन्। उनलाई माओवादी केन्द्र, नाउपा, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद गरी ५७ जनाले विश्वासको मत दिएका थिए। प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, राप्रपाका चार, जसपा ,जनमत र लोसपाका तीन/तीन, एकीकृत समाजवादीका एक र दुई स्वतन्त्र सांसद छन्।

TOP