धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार, दुई पक्राउ


धनगढी : धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।​

पीडितका परिवारका आफन्तले बुधवार जाहेरी दिएपछि घटना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता तथा डिएसपी कुलदीप चन्दका अनुसार १६ र १७ वर्षका दुईजना किशोरलाई बलात्कार आरोपमा पक्राउ गरिएको हो।

१७ फागुनमा सामूहिक बलात्कारमा परेको भनिएकी ती बालिकाका आफन्तले जाहेरी दिएपछि बुधबार मुद्दा दर्ता गरिएको र उनीहरूलाई नियन्त्रणमा लिइएको चन्दले बताए।

घटनाका आरोपितहरू नाबालक भएकाले प्रहरीले उनीहरूको परिचय पनि गोप्य राखेको छ। दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

TOP