उपराष्ट्रपतिमा दोस्रोपटक भिडिरहेकी अष्टलक्ष्मी
काठमाडौं : नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ। शनिबार बिहान बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनले संघीय संसद् भवन पुगेर उम्मेदवार दर्ता गराइसकिन्।
शाक्य दोस्रोपटक उपराष्ट्रपति पदको उम्मेदवारको रूपमा निर्वाचनमा भाग लिँदै छिन्। २०६५ गते भएको उपराष्ट्रपतिको निर्वाचनमा उनले जम्मा चार मत ल्याएकी थिइन्। २०६५ साउन ४ गते भएको निर्वाचनमा शाक्यले आफ्नै पार्टी एमालेको समेत भोट पाइनन्। साउन २ गते भएको उम्मेदवारी दर्तानुसार एमालेले एक्लै आफ्ना उम्मेदवार खडा गरेको थियो तर बदलिएको राजनीतिक परिदृश्यले शाक्य स्वयं एमालेको मत पाउनबाट वञ्चित हुनुपरेको हो।
तत्कालीन पार्टीका महासचिव माधवकुमार नेपाल नयाँ गठबन्धनमा मिसिएपछि उनको उपराष्ट्रपतिको भाग खोसिएको थियो। नेपालले नेपाली कांग्रेस र मधेसी जनअधिकार फोरमसँग गठबन्धन गरे। नयाँ गठबन्धनको सहमतिअनुसार राष्ट्रपति कांग्रेस, उपराष्ट्रपति फोरम र संविधानसभा अध्यक्ष एमालेले पाए।
राष्ट्रपति र उपराष्ट्रपतिमा माओवादीबाट धोका खाएपछि कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला तथा फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेको साथ खोजेका थिए। त्यस वेला माओवादीले राष्ट्रपतिमा रामराजाप्रसाद सिंह र उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई उम्मेदवार बनाएको थियो। सिंहले २८२ मत पाए भने श्रेष्ठले २४३ मत मात्रै पाइन्।
मधेसी जनअधिकार फोरमले परमान्द झालाई उपराष्ट्रपतिको उम्मेदवार बनायो। कांग्रेस, एमालेसहितको साथ पाएका झा ३०५ मतसहित उपराष्ट्रपतिमा निर्वाचित भए।
उम्मेदवारी स्थगित गरेका कांग्रेसका मानबहादुर विश्वकर्मा २ र शाक्यले ४ मत प्राप्त गरेका थिए। कांग्रेसका राष्ट्रपतिका उम्मेदवार रामवरण यादव थिए भने एमालेबाट रामप्रीत पासवान रहेका थिए। उम्मेदवारी दर्तापछि नयाँ समीकरण बनेकाले पासवानले स्वयं आफ्नै दलको समर्थन पाएनन्। यादव ३०८ मतसहित विजयी भएका थिए।
पहिलो महिला मुख्यमन्त्री
२०७८ भाद्र २ गते अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भइन्। शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत हुन्। झण्डै ७० दिन मुख्यमन्त्री बनेकी शाक्यले सरकार अल्पमतमा परेसँगै राजीनामा दिनु परेको थियो। तत्कालीन १०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद थिए तर माधव नेपालले पार्टी विभाजन गरेर गएपछि अल्पमतमा परेकी थिइन्।
त्यस वेला उनी एकल बहुमतको मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन्। एमालेका १२ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि उनी अल्पमतमा परेकी हुन्। सरकार टिकाउन ५५ सिट आवश्यक पर्ने भए पनि एमालेसँग ४४ जना मात्रै सांसद रहेका थिए।
यस्तो छ अंकगणित
उपराष्ट्रपतिमा चारजनाको उम्मेदवारी परेको छ। एमालेबाट शाक्य, जनता समाजवादी पार्टीका दुईजना रामसहायप्रसाद यादव र प्रमिला यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएका छन्। शाक्यलाई एमालेको एक्लो साथ छ भने अन्य १० दलीय गठबन्धनका उम्मेदवार छन्। यद्यपि गठबन्धनले सबैलाई उम्मेदवारी दिन लगाए पनि भोलि एकजनालाई मात्रै सघाउने निर्णय गर्नेछ।
राजनीतिक परिस्थिति नबदलिए ९ दलीय गठबन्धनबाट उपराष्ट्रपति चयन हुने निश्चित छ। राष्ट्रपति निर्वाचनमा भएको समर्थनअनुसार ८ दलीय गठबन्धनबाटै उम्मेदवार विजयी हुने निश्चित रहेको छ। ८ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल समाजवादी पार्टी र प्रभु शाह नेतृत्वको आम जनता पार्टी रहेका छन्।
८ दलीय गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीसँग ३२ हजार १२३ मतभार रहेको छ भने एमालेसँग १५ हजार ३९१ मत रहेको छ।
प्रतिनिधिसभामा ७७, राष्ट्रियसभामा १० र प्रदेशसभामा १७५ जना सांसद रहेको नेपाली कांग्रेससँग १६ हजार १४२ मतभार रहेको छ। यसैगरी माओवादी केन्द्रसँग ७ हजार ७४५ , एकीकृत समाजवादीसँग २ हजार ५७४, जनता समाजवादी पार्टीसँग २ हजार १४५, जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, उन्मुक्तिसँग ८९२ र जनमोर्चासँग २०६ मतभार रहेको छ।
२ हजार ४५० मत भएको राप्रपा र नेमकिपा (२२३ मत) तटस्थ बसेका छन्। हाम्रो नेपाली पार्टीसँग ९६, समाजवादी पार्टीसँग ४८, नेपाल संघीय समाजवादी पार्टीसँग ४८ र स्वतन्त्रको ७४८ मतभार रहेको छ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…



ghanashyam