भन्सारका पूर्व नासु रघुनाथ घिमिरेविरुद्ध सवा २ करोड भ्रष्टाचार मुद्दा


काठमाडौं : भन्सार विभाग काठमाडौंका पूर्व नायव सुब्बा रघुनाथ घिमिरेमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेमाथि २ करोड १४ लाख ४६ हजार बिगो कायम गरी आइतबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अवकाश पाइसकेका घिमिरेले सेवामा रहेको २५ वर्षको अवधिमा आर्जन गरेको सम्पत्ति र खर्च गरेको सम्पत्तिमा २ करोडभन्दा बढीको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

स्रोत नखुलेको बिगो जफत र त्यसबाट बढेबढाएको सम्पत्ति जफतका लागि अख्तियारले घिमिरेकी श्रीमती शारदा गौतमलाईसमेत प्रतिवादी बनाएको छ।

भन्सार विभाग काठमाडौंका तत्कालीन नायव सुब्बा (हाल अवकाश प्राप्त) घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने काम गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमतीलगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीमा लगानी, शेयर खरिद, जग्गा खरिदलगायत काम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो।

उजुरीमाथि छानबिनका क्रममा अख्तियारले घिमिरेले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२/०७/२८ देखि मिति २०७९/०९/१२ गतेसम्मको अवधिको आम्दानी र खर्चको विवरण अनुसन्धान गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अनुसन्धान जाँच अवधिमा उनको वैधानिक आयमा निज रघुनाथ घिमिरेको पारिश्रमिक, उनकी श्रीमती शारदा गौतमको पारिश्रमिक, उनकी छोरीको पारिश्रमिक आय, कर्मचारी सञ्चयकोषलगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांशवापत प्राप्त वैधानिक आय, निजको श्रीमती शारदा गौतमले अभिकर्ता कमिसनवापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त गरेको पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाशपश्चात प्राप्त आयसमेत जोडिएको छ।

उनको आय जम्मा ५ करोड २५ लाख १६ हजार ३२७ रूपैयाँ ४४ पैसा वैधानिक आय स्रोत खुलेको अख्तियारले बताएको छ।

सोही अवधिमा उनको सम्पूर्ण खर्च तथा लगानीमा भने ७ करोड २९ लाख ६२ हजार ९८४ रूपैयाँ ६७ पैसा खर्च तथा लगानी भएको देखिएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए।

उनका अनुसार खर्च तथा लगानीमा जग्गा खरिद, घर निर्माण, रजिष्ट्रेशन दस्तुर र पुँजीगत लाभकरमा भएको खर्च, विभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च, कर्जा/ऋणको साँवा ब्याज तिरेको रकम, जीवन बीमा प्रिमियम तिरेको खर्च रकम, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, विद्युतीय उपकरण खरिदमा भएको खर्च, बैंक मौज्दात रकम, विदेश भ्रमण खर्च, सुन तथा चाँदी खरिदमा भएको खर्चसमेत जोडिएको छ।

यसरी पूर्वकर्मचारी घिमिरेको कुल वैधानिक आयलाई उनले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा बढी २ करोड १४ लाख ४६ हजार ६५७ रूपैयाँ २४ पैसाको स्रोत पुष्टि हुन नसकेको अख्तियारको ठहर छ।

सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वाभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले घिमिरेविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन र घिमिरेले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति असुलउपर गर्न मागदाबी लिएको छ।

यसैगरी घिमिरेले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती शारदाको नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च बराबरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र शारदालाई प्रतिवादी बनाएको अख्तियारले स्पष्ट पारेको छ।

TOP