विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौं विश्वविद्यालय


काठमाडौं : काठमाडौं विश्वविद्यालयले विद्यार्थीको संख्या न्यून भएका तथा विद्यार्थी नै नभएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी गरेको छ। विद्यार्थी थोरै भएका शैक्षिक कार्यक्रम ‘फेज आउट’ गरी आगामी दिनमा नयाँ र प्रभावकारी कार्यक्रम ल्याउने योजना बनाइएको विश्वविद्यालयले जनाएको छ।

विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विद्यार्थी थोरै भएका शैक्षिक कार्यक्रम बन्द गर्ने तयारी भए पनि कुन–कुन कार्यक्रम बन्द गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिए।

विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी अभावका कारण सञ्चालनमा समस्या भएको बताउँदै आगामी दिनमा प्रभावकारी र विद्यार्थीको आकर्षण बमोजिमका कार्यक्रम ल्याउनेबारे छलफल भइरहेको उनको भनाइ थियो।

विश्वविद्यालयले हाल २ सयभन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसमध्ये करिब ३० प्रतिशत कार्यक्रम विद्यार्थी अभावका कारण प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन्।

उपकुलपति थापाका अनुसार ब्याचलर अफ सोसल वर्क (बिएसडब्लू) को २४ कोटामध्ये २२ सिट रिक्त छन् भने ब्याचलर अफ म्यानेजमेन्ट(बिएमएस) मा ३० सिटमा २२ जना भर्ना भएका छन्।

मास्टर्स अफ म्यानेजमेन्ट(एमएमएस) मा २० सिटमध्ये १२ सिट रिक्त छन् भने ब्याचलर अफ बुद्धिष्ट स्टडिजमा ३० सिट भए पनि ४ जना मात्र विद्यार्थी भर्ना भएका छन्।

उनले पिजिडी इन म्यानेजमेन्टका ३० सिटमध्ये १६ सिट, एकवर्षे एमएड इन इएलटीका १५ सिटमध्ये १२ सिट रिक्त रहेको जानकारी दिए। ब्याचलर अफ बिजनेस स्टडिज (बिबिए) मा १ सय २० सिटमध्ये ७८ जना भर्ना भएका छन्।

गुणस्तरीय शैक्षिक कार्यक्रम समयअनुकूल सञ्चालन गरे पनि विद्यार्थी अभाव हुने गरेको उपकुलपति थापाले बताए। विश्वविद्यालयले समयानुकूल शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि सम्बन्धित निकायको न्यून चासो, प्रोत्साहनको कमी, प्रचारप्रसार नहुनु जस्ता कारणले विद्यार्थीको कमी हुने गरेको विश्वविद्यालयका सहनिर्देशक ब्रजेश मिश्रले बताए।

TOP