बोडेमा आज जिब्रो छेड्ने जात्रा, थिमीमा सिन्दुर जात्रा मनाइँदै


काठमाडौं : भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइँदै छ। स्थानीय २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्दै छन्।

जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्। सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्।

थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जारी गरेको जात्रा तालिका अनुसार जिब्रो छेडाउने जात्रा दिउँसो १२ बजे सुरु हुनेछ। भक्तपुरको विस्का जात्रा अन्तर्गतको मध्यपुर थिमीको यो जात्रा सबैभन्दा बढी प्रख्यात छ।

जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ। एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ। विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ।

जिब्रो छेडिसकेपछि नगर परिक्रमा गर्ने प्रचलन छ । जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ ।

यसैबीच मध्यपुर थिमी क्षेत्रमै शनिबार सिन्दुर जात्रा मनाइँदैछ। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमLका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्छन्।

TOP