‘शिक्षा र स्वास्थ्य निःशुल्क नभए भ्रष्टाचार रोकिन्न’

१३ बैशाख, काठमाडौँ : राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले शिक्षा र स्वास्थ्य निःशुल्क नभए भ्रष्टाचार नरोकिने बताएकी छन्।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य न्यौपानेले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभएसम्म देशमा भ्रष्टाचार नरोकिने बताइन्। उनले कर्मचारीलाई आफू र आफू आश्रित परिवारलाई पुग्ने गरी तलब व्यवस्था नगर्दासम्म पनि भ्रष्टाचार रहिरहने बताइन्।

उनले नीति निर्माणको तहमा भ्रष्टाचार हुने उल्लेख गरिन्। न्यौपानेले दलाल पुँजीपति र निश्चित घरानाको हितमा नीति बनाइने गरेको बताइन्।

उनले भनिन्‚ ‘जताजतै भ्रष्टाचार व्याप्त छ। भ्रष्टाचार नीति निर्माणमा छ। दलाल पुँजीपति र निश्चित घरानाको हितमा नीति बनाइन्छ। यो नियन्त्रण नगरे यो देशमा अर्थतन्त्र सुदृढ हुँदैन। राज्यले आफूले चाहेको उम्मेदवारलाई जिताउनका निम्ति राज्य आफैँ उपस्थित हुन्छ र पैसाको खोलो बगाउँछ। उम्मेदवारले चुनाव जित्न करोडौँ खर्चनुपर्छ‚ उसले चुनाव जितेपछि त्यो पैसा उठाउँछ कि उठाउँदैन ? भ्रष्टाचार गर्छ कि गर्दैन ? शिक्षा र स्वास्थ्य निःशुल्क नहुँदासम्म भ्रष्टाचार रोकिदैन।’

उनले निर्वाचनमा उम्मेदवारले चुनाव जित्नका लागि करोडौँ खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसरी जितेर आएको उम्मेदवारले भ्रष्टाचार गर्ने सम्भावनाप्रति गम्भीर हुनुपर्ने बताइन्।

TOP