प्रधानन्यायाधीश नियुक्त नगरिए थप आन्दोलन गर्ने बारको चेतावनी

१९ बैशाख, काठमाडौँ : प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएशनले तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ।

मंगलवार पनि नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अविलम्ब प्रधानन्यायाधीश नियुक्ति नभए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए। उनले आन्दोलन एक हप्तासम्म जारी रहने बताए।

उनले भने, ‘नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश नियुक्ति हुन नसकेको विषयमा अभियान सञ्चालन गरेको छ। नेपालको संवैधानिक परिषद्ले नेपालको प्रधानन्यायाधीश नियुक्ति गर्न सकेन वा गरेन। त्यसका कारणले हामी आन्दोलित छौँ। बार एशोसिएशनका ९० वटै बार युनिटमा आज कार्यक्रम भएको छ। तेस्रो दिन हो, एक हप्तासम्म जारी हुनेछ। त्यसपछि पनि समाधान आउन सकेन भने एक हप्तापछि पुनः नयाँ किसिमको आन्दोलन शुरु गर्नेछ।’

कानूनव्यवसायीहरूले संवैधानिक दायित्व पूरा गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, सर्वोच्च अदालत र सबै अदालतमा रिक्त न्यायाधीश तत्काल नियुक्ति गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ लगायतका प्लाकार्ड बोकेर विरोध जनाएका थिए।

TOP