निर्वाचनमा उम्मेदवारले परिवारका सदस्यको पनि सम्पत्ति विवरण पेश गर्नुपर्ने
काठमाडौँ : निर्वाचनमा उम्मेदवार बन्नेहरूले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ।
निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको मस्यौदा विधेयकमा यस्तो प्रावधान राखिएको हो। मंगलवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवार बन्नेहरूले मनोनयन पत्र पेश गर्दा आफू र आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने र उनीहरूको सम्पत्ति विवरण गोप्य रहने व्यवस्था मस्यौदामा गरेको बताए।
उनले उम्मेदवारले मनोनयन पत्र पेश गर्दा निर्वाचन प्रयोजनका लागि प्रयोग गर्ने बैंक खाताको विवरण, निर्वाचन प्रयोजनका लागि खर्च गर्ने अनुमानित रकम तथा त्यसको स्रोत उल्लेख गरी निर्वाचन प्रयोजनका लागि खर्च गर्ने रकम तथा आर्थिक सहयोगबापत रकम त्यस्तो खातामा जम्मा गर्ने र निर्वाचन प्रयोजनका लागि सोही खाताबाट मात्र खर्च गर्ने कुराको प्रतिबद्धता गर्नुपर्ने व्यवस्था गरिएको बताए।
उनले निर्वाचनमा तोकिएकोभन्दा बढी खर्च भएको प्रमाणित भए पद नै जानसक्ने व्यवस्था मस्यौदामा राखिएको बताए।
उनले मस्यौदामा मौन अवधि किटान गरिएको र मौन अवधिको समय २४ घण्टाको रहने व्यवस्था गरिएको पनि बताए। भण्डारीले नयाँ निर्वाचन मस्यौदामा पहिलो हुने निर्वाचनतर्फ नै ३३ प्रतिशत महिला प्रतिस्पर्धामा जानुपर्ने प्रावधान राखिएको बताए। यस्तै उनले विदेशमा रहेका नेपालीहरूको नाम मतदाता नामावलीमा संकलन गर्ने र नो भोटको व्यवस्था पनि मस्यौदामा राखिएको बताए।
प्रतिनिधि सभा वा प्रदेश सभा सदस्यको लागि पहिलो हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा त्यस्तो दलले जति निर्वाचन क्षेत्रमा उम्मेवारी दिने हो‚ त्यसको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान बनाएको छ। स्थानीय तहको अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये कम्तीमा एकजना महिला उम्मेदवार अनिवार्य गरेको छ। एउटा पदमा मात्रै उम्मेदवारी दिँदा भने महिला उम्मेदवार अनिवार्य हुनुपर्नेछ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचनसम्बन्धी नयाँ मस्यौदाले आवधिक निर्वाचन सस्तो र मितव्ययी बनाउने दाबी गरे।
प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि निर्वाचन पर्यवेक्षण गर्न जाने निर्वाचन पर्यवेक्षक, विदेश भ्रमण जाने मतदाता, व्यापार, व्यवसाय, रोजगारी वा स्वास्थ्योपचारका कारण आफ्नो मतदाता नामावली रहेको वडामा उपस्थित भई मतदान गर्न असमर्थ हुने मतदाताहरू र निर्वाचनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीले अग्रिम मतदान गर्न पाउनेछन्।
राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण पेश गर्नुपर्ने व्यवस्था पनि नयाँ निर्वाचन मस्यौदामा समावेश गरेको छ। आयोगले मस्यौदामा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन निजको पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि, प्रतिनिधि सभाका सदस्य वा प्रदेश सभा सदस्यको निर्वाचन त्यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतवार, राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतवार र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरूको निर्वाचन निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतवार हुने व्यवस्था गरेको छ।
त्यस्तै निर्वाचन हुने मितिले ९० दिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनिने व्यवस्था गरिएको छ। त्यस्तै मस्यौदा विधेयकमा संघीय संसद्, प्रदेश सभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति त्यस्तो पदको कार्यकाल पूरा नभएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि गरेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


