सर्वसाधारणको पहुँचबाहिर मुस्ताङी च्याङ्ग्रा, एउटैको मूल्‍य ५० हजार

म्याग्दी : दशैँमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ। तर, रहर भएर के गर्नु, यस वर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मूल्य अत्यधिक बढेपछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन्।

दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट निकासी भएका च्याङ्ग्रा बजारमा आएका छन्। म्याग्दी, बागलुङ, पर्वत कास्की, हुँदै काठमाडौंलगायत जिल्लाबाट व्यापारीहरू मुस्ताङका गाउँगाउँमा र किसानका गोठहरूमा नै पुगेर खरिद गरेका च्याङ्ग्रा बजारमा ल्याई पुर्‍याएका हुन्।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले शुक्रबारसम्म करिब दुई हजार भेडा च्याङ्ग्रा मुस्ताङबाहिर निकासी भएको जानकारी दिए।

यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको उनले बताए।

हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोसिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ। दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन्। मुस्ताङमा पैसठ्ठी वटा ठूला च्याङ्ग्रा फार्म छन्। लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन्। हिमचुतुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ।

एउटा च्याङ्ग्राको मूल्य रु ५० हजार

मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मूल्य रोज्जाको रु ५० हजारसम्म पुगेको छ।

त्यसैगरी, सबैभन्दा सानो र सबैले छोडेको च्याङ्ग्राको मूल्य पनि रु ३० हजारको हाराहारीमा पर्ने मुस्ताङबाट च्याङ्ग्रा लिएर पोखरातिर लैजाँदै गर्नुभएका व्यापारी यामबहादुर केसीले बताए।

उनीसँगै चार जनाको समूहले तीन सय ५० वटा च्याङ्ग्रा खरिद गरेर बेनी हुँदै पोखरातर्फ च्याङ्ग्रा लैजाँदै छन्।

एनका अनुसार, चार वर्ष अघि रु ३० देखि ३५ हजारसम्म पर्ने च्याङ्ग्राको मूल्य यस वर्ष रु ५० हजार पुगेको छ। मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मूल्य बढेको हो। घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ।

मुस्ताङमा व्यापारीहरूले च्याङ्ग्रालाई प्रतिगोटा रु ४२ हजारसम्म मूल्य परेको बताएका छन्। केही वर्ष अघिसम्म २० देखि २२ हजारमा पाइने च्याङ्ग्राको मूल्य यस वर्ष दोब्बरले बढेको व्यापारीहरुको गुनासो रहेको छ।

जोमसोम र लेते मा पशु चिकित्सकहरुले मुस्ताङबाट बाहिरिने भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ।

गत वर्ष ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङ्ग्रालाई व्यापारीले किसानबाट २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए। मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चीनको तिब्बतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडाच्याङ्ग्रा आउने गरेका छन्।

उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ।

तिब्वती च्याङ्ग्राको तौल र मूल्य फरक हुने भएकाले पनि उपभोक्ताले व्‍यापारीसँग बुकिङ गर्ने गरेका छन्।

पर्याप्त चरन क्षेत्र, बजार मूल्य, प्राविधिक सहयोगसहित कृषकहरूको भेडापालनप्रतिको आकर्षणले विगतका तुलनामा भेडाच्याङ्ग्रा पालनमा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिक्री केन्द्र मुस्ताङले जनाएको छ।

स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमति दिइएको छ। मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परिक्षणमा खटिएका छन्।

बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यसवर्ष विगतमा भन्दा छिट्टै व्‍यापारी मुस्ताङमा पुगे पनि कृषकले व्‍यापारीबीच नै मूल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको व्‍यापारीको भनाइ छ।

मुस्ताङदेखि गन्तव्‍यसम्म पुग्ने बेलामा पटकपटक स्थानीय कर तिनुपर्ने अवस्थाको अन्त्य भएमा उपभोक्तालाई केही सस्तोमा बिक्री गर्न पाइन्छ।

यसैबीच दशैँतिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडापालन गरिएको छ। दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ।

TOP