भारतको सीमा नजिक क्यासिनो सञ्चालन गर्न सके राम्रो : वर्षमान पुन

१९ पुष, काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताएका छन्।

बिहीवार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिष्पर्धा गर्नसक्ने बताए।

उनले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताए।

उनले भने, ‘नेपालले चीन र भारतसँग प्रतिष्पर्धा गर्नसक्ने बजार भनेको पर्यटन मात्रै हो।’

उपमहासचिव पुनले भारतीय पर्यटकका लागि सीमा नाकाका होटलहरु वैवाहिक सिजनमा चलायमान बनाउने र आकर्षक बनाउनुपर्ने बताए।

उनले भारतको सीमा नजिक क्यासिनो वा मिनिक्यासिनो सञ्चालन गर्नसके पनि राम्रो हुने बताए।

TOP