पशुपक्षी क्षेत्रको विकासका लागि सरकार र अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौता

१७ माघ, काठमाडौँ : कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानका तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानबीच भएको सम्झौताले पशुपक्षी अनुसन्धान, विकास, नवीन प्रविधि प्रवर्धन र कृषि क्षेत्रको दिगो विकासमा योगदान पुग्ने सरकारले विश्वास लिएको बताएको छ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. वेदुराम भुसालले विकासशील देशमा पशुपालनको क्षेत्रमा काम गरी किसानको जनजीवनमा सुधार ल्याउने उद्देश्यले अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानसँग भएको सम्झौतापत्र नेपालको लागि महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताए।

उनले सरकारले विगत लामो समयदेखि अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानसँग सहकार्य गर्दै उल्लेख गर्दै जलवायु स्मार्ट पशुपालन, पशुपालनमा लगानी र लम्की स्किन रोकथाम कार्यशाला गर्दै आएको बताए। यो सम्झौताले नेपालको पशुपालन क्षेत्रमा दिगो विकासका लागि रोडम्याप तयार गर्ने विश्वास रहेको उनले बताए।

कार्यक्रमा बोल्दै मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानसँगको सहकार्यले नेपालको पशुपालन क्षेत्रमा स्थानीय समस्या समाधान गर्न अनुसन्धानात्मक कार्य स्तरीय र अन्तरराष्ट्रिय परिवेश अनुकूल बनाउन फलदायी हुने विश्वास रहेको बताए।।

अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानकी महानिर्देशक तरावलीले उचित पोषण, बाल कुपोषण न्यूनीकरण गर्न, संज्ञानात्मक विकासमा सुधार, खाद्य उत्पादन र स्वास्थ्यका लागि साना किसानको पशुपालन प्रणालीलाई रूपान्तरण गर्ने बताइन्। उनले नेपाल सरकारसँगको सहकार्यप्रति उत्साह व्यक्त गरिन्।

TOP