१ लाख ६३ हजारले दिँदै कोरियन भाषा परीक्षा, २०८१ पुससम्म चल्ने

रासस

काठमाडौँ : इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गतेसम्म चल्ने छ।

सोमबार पहिलो चरणअन्तर्गत ४७ हजार ५१९ जना सहभागी उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिइन्।

उनका अनुसार दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने र त्यो परीक्षा विसं २०८१ को वैशाख ३१ देखि साउन १६ गतेसम्म सञ्चालन हुने छ।

तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने छन्। उक्त परीक्षा २०८१ साल कात्तिक २६ देखि सुरु भएर २०८१ पुस २ गतेसम्म चल्ने छ।

सन् २०२३ का लागि कोरियाको उत्पादन मूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भइरहेको र उक्त परीक्षाका लागि एक दिनमा पाँच सिफ्ट तयार गरी दिनमा एक हजार जनाले परीक्षा दिन थालेको निर्देशक कँडेलले जानकारी दिइन्।

उनले भनिन्, ‘शनिवार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ।’

परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेसन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित भई परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने इपीएस कोरिया शाखाका अधिकृत कमल श्रेष्ठले जानकारी दिए।

परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताइन्।

उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट बाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ।

यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको इपीएस कार्यालयले जनाएको छ।

TOP