शासकीय स्वरूप परिवर्तन नगरिएसम्म समाजवादमा पुग्न सकिँदैन : उपप्रधानमन्त्री यादव


काठमाडौँ : उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समाजवादमा पुग्न शासकीय स्वरूप नै बदल्नुपर्ने बताएका छन्। मंगलबार समाजवादी मोर्चाद्वारा आयोजित ‘नेपाली विशेषताको समाजवाद’ नामक अन्तरसंवादमा उनले यस्तो बताएका हुन्।

जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले संविधानमा समाजवाद उन्मुख लेखेर मात्र त्यहाँ नपुगिने बताए। समाजवादमा पुग्न संविधान नै संशोधन गर्न आवश्यक रहेको उनले बताए।

‘अहिले संविधानमा समाजवाद उन्मुख लेखिएको भए पनि संवैधानिक व्यवस्था समाजवादको बाधक संविधान नै छ। यसलाई संशोधन गरौं’, उनको प्रस्ताव छ।

शासकीय स्वरूप र निर्वाचन प्रणाली बदलेर मात्र समाजवादमा पुग्न सकिने मन्त्री यादवको भनाइ छ। ‘शासकीय स्वरूप बदल्नुपर्छ। निर्वाचन प्रणालीले पनि करोडौँ खर्चेर संसद्‌मा पुगिन्छ। यसलाई पनि बदल्नुपर्छ। अनि मात्र समाजवादमा पुगिन्छ’, उनले भने, ‘संविधान परिवर्तन नगरीकन उन्मुख लेखेर मात्र परिवर्तन हुँदैन।’

संविधान समाजवाद उन्मुख भए पनि यात्रा भने पुँजीवादतिर रहेको नेता यादवले बताए। उनले भने‚ ‘संविधान समाजवाद उन्मुख छ, हाम्रो यात्रा पुँजीवादतिर छ। यात्रा दक्षिणतिर तर गन्तव्य उत्तरतिर भइरहेको छ अहिले।’

TOP