सगरमाथाबाट ओर्लंदा एकजना नेपाली र एकजना बेलायती बेपत्ता


सल्लेरी : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा २ आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती आरोही रहेका छन्।

मंगलवार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले जानकारी दिए।

चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७५० मिटरमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका उनले बताए।

दुवैजनाले यही जेठ ८ गते विहान सगरमाथाको सफल आरोहण गरेका पर्यटन विभागका शाखा अधिकृत नारायणप्रसाद खनालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शेर्पा र पिटरसन यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि गत चैत २२ गते ‘एटके एक्सपिडिसन प्रालि’मार्फत विभागको अनुमति लिई आरोहणमा निस्किएका थिए।

वातावरण अनुकूल भएको अवस्थामा दुवैजना सगरमाथा आरोहण गर्न आधार शिविरबाट गत शुक्रवार दोस्रो आधार शिविर हुँदै शिखरतर्फ प्रस्थान गरेका पर्यटन विभागको आधारशिविरस्थित सम्पर्क कार्यालयले जनाएको छ।

बेपत्ता दुवैजनाको खोजी गर्न उनीहरुको कम्पनीले ६ जना अनुभवी हिमाली पथप्रदर्शक परिचालन गरेको पर्यटन विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ। बेपत्ताको खोजीमा सहयोग गरिदिनसमेत विभागले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।

TOP