कार्कीनेटामा पहिरोमा बेपत्ता भएका दुवै जनाको शव भेटिए


पर्वत : जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटामा शनिबार दिउँसो आएको पहिरोमा परी बेपत्ता भएका दुवै जनाका शव फेला परेका छन्।

शनिबार दिउँसो गोठभन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर कार्कीनेटाको टिमुबोटस्थित पन्थेका ४० वर्षीय झलक पौडेल र स्याङ्जाको आँधिखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीराम पौडेल बेपत्ता भएका थिए। तुलसीराम झलकका साथी हुन्। साथीकोमा गएको बेलामा उनी पहिरोमा परेका हुन्।

कार्कीनेटाका वडाध्यक्ष चोलाकान्त पाध्याका अनुसार तुलसीरामको शव पहिरोले बगाएको गोठ तथा घरभन्दा करिब एक सय मिटर तल भेटिएको हो। कार्कीनेटाकै झलकको शव भने स्याङ्जाको आँधिखोला गाउँपालिका–४ शेपथमा भेटिएको हो। घर भन्दा केही तल रहेको हिले खोलामा मिसिएर उनको शव खोलामा पुगेको उद्धारकर्ताहरूले बताएका छन्।

शनिवार दिउँसो गोठभन्दा माथिको पाखाबाट आएको पहिरोमा परेर उनीहरू बेपत्ता भएका थिए। पहिरोमा परेर झलक पौडेलको घरमा पालिएका दुई वटा भैँसी, एउटा गोरु र चार वटा बाख्रा पनि पुरिएका छन्।

शुक्रबारदेखि अविरल रूपमा भइरहेको वर्षाले झलकको घर नजिकै रहेको गोठमाथिको पाखो गलेको जस्तो देखिएको थियो। गोठमा पहिरो आउन सक्ने सम्भावना देखेर गोठमा रहेका चौपाया निकाल्न गएकै बेलामा पहिरो आएको थियो। उक्त पहिरो घरभन्दा करिब तीन सय मिटर माथिबाट खसेको छ।

TOP