विस्थापित ७० परिवार घर फर्किए


बैतडी : अविरल वर्षापछि बाढीको त्रासले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुंगाडका ७० परिवार घर फर्किएका छन्। सेती नदीमा जलस्तर बढेपछि आसपासका ७० परिवार असार २३ गतेदेखि शारदा माविमा बसिरहेका थिए।

हाल बाढी जोखिम कम भएसँगै उनीहरू घर फर्केका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

उनले भने, ‘अविरल वर्षापछि सेती नदीमा जलस्तर बढेर बस्तीमा पस्ने खतरा बढेपछि असार २३ गते ढुंगाडका ७० परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो। स्थानीय जनप्रतिनिधिको सहयोगमा शारदा माविमा सारिएका उनीहरू हाल जोखिम कम भएसँगै आफ्नै घर फर्किसकेका छन्।’

नदीमा बाढीको सम्भावना बढेसँगै स्थानीय बासिन्दा घर छोडेर विद्यालयमा आश्रय लिएर बसेका थिए। अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेर तटबन्धमाथि पुगेपछि स्थानीय बासिन्दा घर छोड्न बाध्य भएका थिए।

वर्षाको समयमा सेती नदीमा आउने बाढीले स्थानीय बासिन्दालाई समस्या हुने गरेको छ। सिगास गाउँपालिका– ५ का हरडाखानी, लाम्बगड, लोडे, वडा नं ६ का सेती किनारका बस्तीहरू पनि बाढीको जोखिममा हुने गरेको छ।

यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास गाउँपालिका ५ ढुंगाड लगायत क्षेत्रमा सेती नदीको बाढी पस्दा ठूलो क्षति गरेको थियो।

असार २० गतेदेखिको अविरल वर्षाले यहाँका पाँचवटा घरमा क्षति पुगेको थियो। दुईवटा पशुचौपाया मरे पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

TOP