आन्तरिक पर्यटकको रोजाइमा महावै पाटन


कालिकोट : कालिकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ। चारैतिर अग्लाअग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो।

पाटनमा हिउँदमा हिउँ र वर्षा याममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको कालिकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए। कालिकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन्। महावै पाटनका नामबाट दैलेखमा महाबु र कालिकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ।

पाटनका बीचमा रहेको डुङ्गामाथि शिवको मन्दिर छ। हरेक वर्ष जनैपूर्णिमामा यहाँ मेला लाग्छ। शिवमन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रूपमा लिने गरिएको शाहीले बताए। ‘पूजाप्रार्थना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने जनविश्वास छ’, उनले भने, ‘शिव मन्दिरको मेला भर्न प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालिकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन्।’

देशका एक सय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। यो क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ। ‘यहाँको पर्यटन प्रवर्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौँ’, उनले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन्।’

धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यक रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिए। उनका अनुसार यहाँबाट जुम्ला, कालिकोट, दैलेख, जाजरकोट, बर्दिया, टीकापुर र नेपालगञ्जका अधिकांश स्थान देख्न सकिन्छ।

‘महावैमा वर्षायाममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैँसीलाई गोठ बनाइएका छन्’, अध्यक्ष सिंहले भने, ‘वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैँसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ।’

TOP