कांग्रेस-एमाले मिल्दा सन्देश राम्रो गइसक्यो, अब मुलुकले गति लिन्छ : योगेश भट्टराई


काठमाडौँ : सत्तारुढ नेकपा (एमाले) का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले कांग्रेस–एमाले सबै राजनीतिक दलहरुलाई साथमा लिएर संविधान संशोधन गर्ने पक्षमा रहेको बताएका छन्।

ताप्लेजुङ सरोकार केन्द्रले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्। सचिव भट्टराईले नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्ने कुरालाई अघि बढाउने सोच सत्तारुढ गठबन्धनले लिएको उल्लेख गरे।

संविधानलाई गतिशील बनाउने गरी संशोधन गर्ने सोच अघि सारिएको उल्लेख गर्दै उनले त्यसमा आवश्यक सुझाव दिन पनि विज्ञहरुलाई आग्रह गरे। सचिव भट्टराईले दुई ठूला दलको सरकार बने यता मुलुकमा सकारात्मक सन्देश गएको दावी गर्दै यसले मुलुकलाई सही दिशामा अघि बढाउने दावीसमेत गरे।

उनले भने, ‘अहिले देशका ठूलो पार्टीहरु एउटै सरकारमा बसिरहेका छौँ। पक्कै पनि मुलुकका लागि केही नयाँ दिशा दिनकै लागि हामीले यो प्रयत्न गरिराखेका छौँ। नेपाल देशलाई धेरै प्रयोगशाला नबनाऔँ। पटकपटक प्रयोगशालाहरु हुँदै आए। अब फेरि अर्को प्रयोगशाला नबनाऔँ भन्ने हो। यी दुई वटा पार्टी एक अर्काका प्रतिस्पर्धी पनि हुन र इतिहासका निर्माता पनि हुन। इतिहासको कठिन मोडमा राष्ट्रलाई सही दिशा दिन अग्रसर भएका पार्टीहरु पनि हुन्।’

TOP