विद्युत प्राधिकरण नेतृत्त्वविरुद्धको कदम तत्काल रोक्नुस् : प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी


काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणविरुद्ध सरकारले चालेको कदम तत्काल रोक्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले अहंकार, इगो र स्वार्थ समूहको प्रभावमा परेर सरकारले प्राधिकरणको नेतृत्वमाथि निशाना साधेको आरोप लगाउँदै त्यसो गर्नबाट सरकारलाई रोकिन चेतावनी दिए।

सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले विद्युत प्राधिकरणमा गर्न खोजिएको कामलाई तत्काल रोक्नुपर्ने बताए।

उनले भूटानी शरणार्थी काण्डमा छानबिन गरिरहेको इमान्दार प्रहरी अधिकृतलाई सरकारले दण्डित गरेको भन्दै आपत्तिसमेत जनाए।

‘हामी यही खबरदारी सडकमा लिएर जानेछौँ। सरकारका प्राथमिकताहरु विवेक होइन, अहंकार, इगो र स्वार्थ समूहको प्रभावले तय भइरहेका छन्। विद्युत प्राधिकरणमा जे गर्न खोज्नुभयो र खोज्दै हुनुहुन्छ‚ रोक्नुस्‚’ अध्यक्ष प्रचण्डले भने, ‘भूटानी शरणार्थी काण्डलाई जता पुर्‍याउन, इमान्दार प्रहरीलाई जसरी दण्डित गर्न खोज्दै हुनुहुन्छ‚ त्यो नगर्नुहोस्। विश्वविद्यालयमा मेरिटोक्रेसी मिच्दै हुनुहुन्छ‚ रोक्नुहोस्। गिरिबन्धुलगायतका नीतिगत भ्रष्टाचारमा सुध्रिनुहोस्।’

TOP