माथिल्लो डोल्पामा १२ वर्षे मेला सुरु, शे गुम्बाको पूजा


सुर्खेत : १२ वर्षपछि उपल्लो डोल्पास्थित हिमालको टुप्पोमा रहेको शे–फोक्सुण्डो गाउँपालिका –३ शे गुम्बाको पूजा तथा क्रिस्टल पर्वतको दर्शन गर्ने मेला गर्न आइतबार देख भव्य कार्यक्रम सुरु भएको छ।

मेलाको नाम बाह्र वर्षे शेली डुग्ड्रा नामकरण गरिएको छ। उक्त मेला २०८१ भाद्र १६ देखि २१ गतेसम्म ४ दिन सम्म सञ्चालन भइरहेको छ। ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेलाको उद्घाटन गर्न कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल डोल्पा गए पनि उपल्लो डोल्पामा जानका लागि मौसम खराबीका कारण दुनैबाट फर्कनुरेको थियो।

शेली रिवो डुग्ड्रा शे मेलालाई भोट बर्मेली बौद्ध पात्रोअनुसार १२ वर्षमा एकपटक लाग्ने डोल्पाको सबैभन्दा ठूलो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ। यो मेलामा शेली रिवो डुग्ड्रा पर्वत क्रष्टल माउण्टेनको परिक्रमा गर्ने अर्थात् कोरा घुम्ने गरिन्छ। बौद्ध धर्मालम्बी अर्थात तिब्तियन पात्रोअनुसार ड्रायगन वर्षमा कोरा घुम्ने वा पर्वत परिक्रमा गर्ने गरिन्छ।

यही वर्षलाई विशेष मानेर डोल्पो समुदायले पवित्र वर्ष मानेर मेला मनाउने गरेका छन्। यसभन्दा अघि ६६औँ १२ वर्षे मेला २०१२ मा मनाइएको थियो। “दर्शन शेली रिवो डुग्ड्राको, विश्वास शान्तिको ” भने मूल मन्त्रका साथ ६७ औँ १२ वर्षे मेला २०८१ भाद्र १६ देखि १९ सम्म मेला सुरु हुन लागेको हो। मेलाले डोल्पा जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताको पहिचान सम्मान र संरक्षणमा सहअस्तित्व हुने बताइएको छ। पुरातात्विक र सांस्कृतिक सम्पदाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रशार हुनेछ भने पर्यटनको विकाससँगै डोल्पालई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन ढलकाले बताए।

यो बाह्र बर्षे मेलामा धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको प्रत्यक्ष अवलोकन गर्न पाउदा खुसी लागेको सुर्खेतबाट मेला स्थलमा पुगेका बीरेन्द्रनगर १० का राम रोकायले बताए।

फोक्सुण्डो ताल, चारताल, फोक्सुण्डो झरना, रिवो वुम्पा गुम्बा,शेल गुम्बा, चाखाङ गुम्बा,शे साम्लिङ गुम्बा, नाम्दो फोला पूजा, थासुङ छोलुङ गुम्बा, याङ्जेर गुम्बा, रापमार नाम्सुम लगायत बिभिन्न प्राचिन गुम्बा मुर्तिहरु,स्तुपाहरु,घङ चेन्रल्वा,घङ नर्बु,घङ ताइका,शे ला,छोया ला,काङ्ग ला,जस्ता सुन्दर हिमाल पनि अवलोकन गर्न पाउदा पाहुनाहरु खुसी भएको आफू खुसी भएको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए।

मेलाले डोल्पोको प्राकृतिक,धार्मिक र सांस्कृतिक सौन्दर्यताको विश्वसामु नौलो पहिचान गरि पर्यटन विकास र प्रबर्द्धनमा महत्वपुर्ण सहयोग पुर्याएको उनको बुझाइ रहेको छ। १८ गतेदेखि विभिन्न धर्मगुरुहरूको धार्मिक प्रवचन जीवनउपयोगी प्रशिक्षण स्वास्थ्य शिविर घोडादौड तीरंदाजी हुनेछ भने मेलाको अन्तिम दिन २१ गते धर्मगुरुबाट जीवन शक्तिकरण अभिषेक पूजा समापन हुने शाहीले जानकारी दिए।

TOP