अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल शुरु


लमजुङ : बर्खामा सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल शुरु भएको छ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुईचार पर्यटक आउने गरेकोमा अहिले १५० जनासम्म आउन थालेका छन्।

पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन्। सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार ३५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताए। अघिल्लो वर्षको सोही अवधिमा १० हजार ८९७ जना पर्यटकले पदयात्रा गरेका थिए। हालसम्म फ्रान्सका एक हजार १७२, इजरायलका एक हजार ८२, जर्मनीबाट ८९२, भारतका ८२८ जना पर्यटकले यो भेगको भ्रमण गरेका उनले जानकारी दिए।

पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक दुईचार हजार आम्दानी हुँदै आएकोमा हाल १५ देखि ३० हजार रुपैयाँसम्म कारोबार हुने गरेको मर्स्याङ्दी गाउँपालिका-४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताए।

हिमाल, उच्च पहाडका र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिएको थोराङला पासबाट मुस्ताङ र पोखरा जान पर्यटक अन्नपूर्ण पदमार्गमा आउने गरेका छन्।

पर्वतारोण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन्। यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने पदयात्रा व्यवसायी बताउँछन्। विगतका वर्षहरूमा झै यो वर्ष पनि दैनिक ४०० पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ।

TOP