मुलुकमा बेइमानहरू बढे, प्रमाण हुँदा पनि कारबाही गर्न सकिन्न : सभापति


काठमाडौँ : सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरू बढ्दै गएको बताएका छन्।

शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्योट सम्बन्धी कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका हुन्। उनले सबै प्रमाण र तथ्य हुँदासमेत कारबाही गर्न बहुमतका कारण नसक्ने अवस्था रहेको बताए।

उनले अहिले मुलुकमा बेइमानहरूको बहुमत भएको उल्लेख गर्दै प्रमाण, कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताए। उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए।

उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए। उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर, ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने, मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने, चेक काट्ने आफैँ गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए।

उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए। उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताए।

TOP