बिपी राजमार्ग : काभ्रेतर्फ दुई दिनभित्र अस्थायी सडक निर्माण गरिँदै


बनेपा : रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी रूपमा सञ्चालन गर्ने तयारीका साथ जनशक्ति र उपकरण परिचालन गरिएको छ।

रोशी खोलाको बहाव सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन गर्ने गरी निर्माण थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

विभागले बुधबारदेखि जनशक्ति तथा उपकरण परिचालन गरी काम शुरु गरेको हो। रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाइमा कटान गरेको छ।

सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहाव सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी निर्माण थालिएको बताए। ‘हिजोदेखि काम थालिसकेका छौँ, अब दुई दिनभित्र एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने गरी अस्थायी सडक बनाउने काम गर्नेछौँ’‚ उनले भने।

उनका अनुसार छिट्टै सडक सञ्चालन गर्न सकिने ‘क्रस–डाइभर्ट’ विधि खोलामा पानीको बहाव नघटेकाले हाललाई असम्भव छ। बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव भएको उनले बताए।

अविरल वर्षाका क्रममा शनिबार उक्त स्थानमा सडक सम्पर्क टुटेपछि स्थानीय तथा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई गत आइतबारदेखि हेलिकप्टरमार्फत उद्धार गरिएको थियो। राजधानीसँग मध्यपहाडी क्षेत्र हुँदै पूर्वसँग जोड्ने एक मात्र छोटो दूरीको उक्त राजमार्ग शनिबार बिहानदेखि ठप्प छ। माथि ठूलो भीर र तल खोलाको बहावका कारण उक्त स्थानबाट पैदलसमेत आवतजावत गर्न असहज छ।

उक्त राजमार्गमा रोकिएका सवारी सञ्चालन गर्न काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मत थालिएको हो। सडक डिभिजन भक्तपुरले मङ्गलबारदेखि रोशीले सबैभन्दा बढी क्षति गरेको सडक १ नं पुलदेखि नेपालथोकसम्म मर्मत शुरु गरेको हो। पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक गत सोमबारदेखि नै एकतर्फी सञ्चालन गरिएको छ। भकुण्डेबाट नेपालथोकतर्फको सडक मर्मत अघि बढाइएको सडक डिभिजनले जनाएको छ।

डिभिजनले काभ्रेतर्फबाट स्काभेटर लगायत चार उपकरण प्रयोग गरेको छ भने नेपालथोकबाट पाँच डोजरलगायतका उपकरण प्रयोग गरेको छ। जनकपुरबाट आएका पाँच उपकरणले मङ्गलटार र नार्केसम्म बाटो मर्मत गरी सडकमा अलपत्र सवारीसाधन सिन्धुलीतर्फ फर्काउने योजना छ।

हालसम्म भकुण्डेदेखि नेपालथोकसम्मको सडक के कति क्षति भयो भन्ने यकिन तथ्याङ्क आइनसकेको भए पनि २९ किमिको यस खण्डमा करिब दुई किलोमिटर सडक बाढीले पूर्ण रूपमा बगाएको अनुमान छ। राजमार्गको कुल १६० किमीमध्ये अविरल वर्षाले तेस्रो खण्ड सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा क्षति पुगेको कार्यालयले जनाएको छ।

जापान अन्ताराष्ट्रिय सहयोग नियोग (जाइका)ले सो राजमार्ग निर्माण गर्दा प्रतिकिमि रु. ३५ करोड लागत थियो। सो रकम हालको मूल्याङ्कनअनुसार रु ५० करोडभन्दा माथि हो। क्षति पुगेको करिब दुई किमी सडक र अन्य स्थानको क्षतिको मूल्याङ्कन प्रारम्भिक अनुमान रु. दुई अर्बभन्दा माथि रहेको डिभिजन प्रमुख योगेशले बताए।​

बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब एक हजार नौ सय मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। अवरुद्ध राजमार्गको नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा ल्याइएको छ।

जाइकाको सहयोगमा आर्थिक वर्ष २०५३।०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण शुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते सम्पन्न सडक जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। तत्कालीन अवस्थामा जापान सरकारको २६ अर्ब जापानी येन र नेपाल सरकारको १ अर्ब १० करोड जापानी येन लागतमा उक्त राजमार्ग निर्माण भएको थियो।

TOP