पशुपति विकास कोषले नै गौशालास्थित धर्मशालाको व्यवस्थापन गर्ने

काठमाडौँ : लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले आफैँ गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतवार बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।

परिषद् सदस्य काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहसमेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएको भन्दै आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्नसक्ने गरी बाटो खुला गरिदिएको छ।

मारवाडी सेवा समितिले यसअघिको करार बदर गरी पाउँ भन्दै काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दावी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो।

TOP