नोबल पुरस्कार विजेता जेफ्रीसँग सगरमाथाको साइनो
काठमाडौं : यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का गडफादर मानिने बेलायतका वैज्ञानिक जेफ्री एभरेस्ट हिन्टन र अमेरिकी वैज्ञानिक जोनजे होपफिल्डले पाए। उनीहरूलाई मेसिन लर्निङसँग सम्बन्धित प्रविधिको विकास गरेवापत् नोबेल पुरस्कार दिइएको हो।
डेभिड ई. रुमेलहार्ट पुरस्कार, आइजेसिएआय (IJCAI) पुरस्कार, ईन्जिनियरिङ् को लागि किल्म प्राइज, आइइइ (IEEE) जेम्स क्लर्क मैक्सवेल स्वर्ण पदक, एनएसइआरसी (NSERC) हर्जबर्ग स्वर्ण पदक,ट्युरिङ अवार्ड (कम्प्युटर विज्ञानको नोबेल पुरस्कार मानिन्छ) प्राप्त गरिसकेका नोबेल पुरस्कार विजेता जेफ्रीले एआईको विकास गरेर आफूलाई पछुतो लागेको बताएका छन्। जेफ्रीलाई पुरस्कार घोषणा गर्दै एकेडेमीले यी वैज्ञानिकले विश्वलाई नयाँ तरिकाले कम्प्युटर प्रयोग गर्न सिकाएको जनाएको छ।
जेफ्रीले सन् २०२३ मा एआईको विरोध गर्दै गुगलबाट राजीनामा पनि दिएका थिए। हिन्टन आफ्नो व्यावसायिक जीवनमा धेरै व्यस्त भए पनि उनको व्यक्तिगत जीवन पनि रोचक रहेको छ। उनी एक उत्सुक पर्वतारोही हुन् र आफ्नो फुर्सदको समयमा हिमाल चढ्न मन पराउँछन्। उनीसँग विश्वको सर्वोच्च शिखर सगरमाथासँग गज्जबको साइनो जोडिएको छ।
यस्तै उनी पुस्तकहरू पढ्न मन पराउँछन्, विशेष गरी विज्ञान र दर्शनसँग सम्बन्धित पुस्तकहरूमा उनको रूचि छ। उनी एक राम्रो वक्ता पनि हुन्। जसले विश्वभरका धेरै सम्मेलन र कार्यक्रमहरूमा भाषण दिएका छन्।
जेफ्री आफ्ना विद्यार्थीहरूसँग काम गर्न मन पराउँछन् र युवा वैज्ञानिकहरूलाई प्रेरणा दिने कुरामा विश्वास गर्छन्। जेफ्रीले आफ्नो नाको बीचमा ‘एभेरेस्ट’ लेख्ने गर्छन्। आखिर के रहस्य छ यसमा?
जेफ्री र सगरमाथा
जेफ्रीको जन्म सन् १९४७ मा लन्डनमा भएको थियो। उनले ब्रिस्टलमा आफ्नो प्रारम्भिक शिक्षा पूरा गरे। उनले पछि सन् १९७८ मा आर्टिफिसियल इन्टेलिजेन्समा पीएचडी हासिल गरेका थिए। उनको ‘रिलेक्सेसन एन्ड इट्स रोल इन भिजन’ शीर्षकको थेसिसमा मेसिन भिजन र लर्निङमा केन्द्रित थियो।
आर्टिफिसियल इन्टेलिजेन्समा आफ्नो अग्रगामी योगदानका लागि प्रख्यात रहेका जेफ्रीले आफ्नो नामको बीचमा ‘एभरेष्ट’ लेख्ने गर्दछन्। उनको यो नामसँग नेपालको महत्वपूर्ण इतिहासको अंशसँग जोडिएको छ। उनको बीचको नाम उनको जिजु हजुर बुबा सर जर्ज एभरेष्टबाट आएको हो।
‘एभेरेष्ट’ नामले पारिवारिक परम्परालाई महत्वपूर्ण रूपमा झल्काउने इन्डिया टुडेले लेखेको छ। इन्डिया टुडे लेख्छ, ‘यसले विभिन्न क्षेत्रहरूमा उल्लेखनीय उपलब्धिको विरासतको प्रतीक हो। जहाँ सर जर्ज एभरेष्ट भूगोल र नक्साङ्कनमा आफ्नो ग्राउन्डब्रेकिङ कामका लागि परिचित थिए। हिन्टनले नयाँपनको पारिवारिक इतिहास जारी राख्दै र आफ्नो बाटोमा नयाँ उचाइमा पुगेर एआईको संसारमा आफ्नो छाप छोडे।‘
नाम पारिवारिक विरासत मात्र नभएर यसले अग्रगामी उपलब्धिहरूको विरासतमा बाँच्ने दबाबलाई प्रतिनिधित्व गर्ने उक्त पत्रिकाले लेखेको छ।
को हुन् सर जर्ज ?
सर जर्ज एभरेस्टको जन्म इंग्ल्यान्डको ग्रिनविजमा सन् १७९० जुलाई ४ तारिखका दिन भएको थियो। एभरेस्टले मार्लो र बुलविचको सैनिक विद्यालयमा शिक्षा हासिल गरेका थिए।
मेधावी शैक्षिक व्यक्तित्वका धनी एभरेस्ट सोह्र वर्षको उमेर हुँदा सन् १८०६ मा भारत आएर इस्ट इन्डिया कम्पनीमा युवा सैनिकको रूपमा जागिर खाएका थिए। पछि उनले बंगाल एटलरीमा भर्ना भए। केही समयपछि नापी गर्ने कामको सिलसिलामा जाभामा पुगेका थिए। सन् १८१४ देखि सन् १८१६ सम्म जाभा द्वीपमा सर्वेक्षण कार्यमा भाग लिएका थिए।
सन् १८१८ मा भारत फर्केर सर्भे अफ इन्डिया सर्वेक्षण विभागमा २७ वर्षसम्म काम गरेका थिए। यस संस्थामा काम गरेको केही समयपछि छोटो समयका लागि बेलायत गएर थप अध्ययन गरी पुनः भारत फर्किएर सन् १८३० मा ‘सर्भेयर जनरल अफ इन्डिया’ का रूपमा जागिरे भए।
उनी सन् १८३२ देखि भू-रेखात्मक लम्बाइ नाप्ने काममा लागेका थिए। ऐतिहासिक विषयका अध्येता निर्मल श्रेष्ठले नागरिक दैनिकमा २०७७ माघ २ गते लेखेको ‘सगरमाथाको नाप र नामकरण’ शीर्षकको लेखमा १८३० मा सर्भेयर जनरल अफ इन्डियाको सर्भेयर जनरल भएका सर जर्ज एभरेस्टको भारतको भू-रेखात्मक लम्बाइ नाप गरिने सर्भेको काममा ठूलो योगदान रहेको बताएका छन्।
‘साथै, जर्ज ट्रिगोनोमेट्रिकल सर्भेमा प्रभावशाली व्यक्तित्व थिए। सर जर्ज एभरेस्टको भूमापनसम्बन्धी कार्यलाई श्रेष्ठतम् मान्ने गरिन्थ्यो। उनले गरेको कार्यमा ठूलो विश्वास राख्दथे। उनको योगदानको कदरस्वरूप मार्च १८५६ मा ‘सर जर्ज एभरेस्ट’को नामबाट यस चुचुरोको नाम ‘मोन्ट एभरेस्ट’ हुनुपर्छ भनी सुझाइएपछि रोयल जिओग्राफिकल सोसाइटी अफ ब्रिटेनले स्वीकृति दिएको थियो।
‘मोन्ट एभरेस्ट’ नामकरण गरिएको यस चुचुरोको नाम एक वर्षपछि ‘माउन्ट एभरेस्ट’ भनी पुनः नामकरण गरिएको थियो। जेफ्री उनै एभरेस्टका सन्तान हुन जसले सन् २०२४ मा आएर नोबेल हात पारे।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam