अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे, फोहोर व्यवस्थापनमा चुनौती
रासस
म्याग्दी : अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो।
वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगी मात्र आधार शिविरमा हुन्थे। पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन्।
अन्नपूर्ण गाउँपालिका- ४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब चार हजार आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । यो याममा हालसम्मकै धेरै सङ्ख्या भएको उनले बताए ।
आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण चुनौती बनेको छ। मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजीकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीले फालेको प्लाष्टिक, स्टिल र सिसाका कारण प्रदूषण बढेको बताए।
‘पदमार्ग र आधार शिविरमा प्लाष्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहोर भएको छ’, उनले भने, ‘कुहिने फोहोरलाई खाडलमा गाड्ने, नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ।’ कति मात्रामा फोहोर छ भन्ने यकिन नभए पनि पदयात्रीले सामान राखेर लगेका प्लाष्टिक, बोरा, बट्टा, बोतल, कपडा र ग्यासको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताए।
सरसफाइ कार्यक्रम
फोहोर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीको टोलीले पछिल्लो एक महिनाको अवधिमा दुईपटक पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेका छन्। हाल बेलायत बस्दै आएका धनकुमार पाइजाको सहयोगमा घराम्दीका भलिबल खेलाडी १९ जनाको टोलीले गत असोज १७ देखि १९ गतेसम्म कुहिने फोहोरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहोरलाई सङ्कलन गरी केही तल ल्याएर जलाएका थिए।
यसैगरी अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङका वडासदस्य श्याम पुर्जाको नेतृत्वमा स्थानीय युवाको टोलीले गत हप्ता पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेको थियो।
शौचालय अभावमा समस्या
पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ। फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका-१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ।
भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो। सम्धिखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गरे।
गाउँपालिकाको प्रयास
पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पारिएको छ। अध्यक्ष पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको एक करोड बजेटबाट आश्रयस्थलको क्षमता विस्तार, शौचालय, खानेपानी, पुललगायत पूर्वाधार निर्माणमा परिचालन गरिने बताए।
मोबाइल र विद्युत् सुविधा विस्तारका लागि सम्बद्ध निकायमा पहल गर्नुका साथै स्थानीय सामाजिक सङ्घसंस्थासँग समन्वय गरेर फोहोर व्यवस्थापनको प्रयास गरेको अध्यक्ष पुनले बताए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam